घाँटीमा माला भिरेर गाउँ डुल्ने उम्मेदवारको कुरा सुन्ने हो भने असम्भव केही छैन । सबै कुरा उतिखेरै चुड्कीको भरमा हुन्छ, तर सर्त सबैको एउटै छ, चुनावमा उसैले जित्नुपर्छ । चुनावको बेला उसले असम्भव सबै काम फत्ते गर्न सक्छ, अरुबेला त वरको सिन्को पर पनि सर्दैन, कामको त कुरै नगरौँ । यस्तो हुने कारण के होला ? चुनाव लागेपछि उम्मेदवार किन शक्तिशाली अर्थात पावरफुल हुन्छ त ? यसको रहस्य जान्न उम्मेदवारको अर्थ हेरौँ ।
उम्मेद र वार मिलेपछि उम्मेदवार हुन्छ । चाकडी, चाप्लुसी, भनसुन, धम्की, घुर्की र त्यतिले पनि नपुगेपछि अर्को पार्टीमा बुर्कुसी मारेपछि उम्मेद्वार भइन्छ । उम्मेद भनेको आशा, भरोसा र इच्छा । वार भनेको उमेद राख्ने आशाकारी । अर्थात् उम्मेदवार भनेको अरूलाई आशा देखाउने व्यक्ति । कुनामा र पाखामा बसेर आशा देखाउन सकिँदैन । ठाउँमै पुगेर भाका र भाखा मिसाउनुपर्छ ।
उम्मेदवारमा पछिल्तिरको दुईवटा अक्षरलाई हेरौँ, वार । वार कि पार भन्ने अर्थ पनि लाग्यो । अंग्रेजी भाषाबाट अर्थ्याउँदा चुनावी मैदानमा लड्दै गरेको या सङ्घर्ष गर्दै गरेको भनेर बुझ्दा पनि भयो ।
अझ वारलाई होटल, रेष्टुराँ, बारको रूपमा बुझदा साथीभाइ बसेर जाँडरक्सी खाने ठाउँ भनेर चिन्ता पनि भयो । जहाँ बसेर उठेपछि भित्रैबाट पावर अर्थात् शक्ति आउँछ । त्यसैले उम्मेदवार हुनु भनेको पावर पनि थपिनु हो । पावर थपिएपछि उम्मेदवारले गर्न नसक्ने भन्ने केही पनि हुँदैन । सबैथोक गर्न सक्छ ।
अहिलेसम्म उम्मेदवारले सानातिना पावरको मात्र कुरा गरेका छन् । यसअघि कसैले खोलामा पानीजहाज र कच्ची सडकमा रेल गुडाउने सपना देखाए । खाना, नाना र छाना त मामुली कुरो भइहाल्यो । अहिले पनि उम्मेदवार धेरैथरी काम गर्न सक्ने तागत बोकेर गाउँ पुगेका छन् । गाउँमा पुगेर उम्मेदवारले भन्न बाँकी रहेका केही काम यस्ता पनि छन् :
– हरेक घरमा निःशुल्क ग्यास सिलिण्डर बाँडिनेछ । सिलिण्डर माथि प्रेसर कुकरसमेत जडान हुनेछ । सिलिण्डर र कुकर भएपछि चामल, तरकारी, नुन, भुटन र मरमसला आवश्यक पर्ने छैन । ग्यास सल्काउने बित्तिकै कुकरमा आफूले चाहेअनुसारको भात र तरकारी पाक्नेछ । यसो हुँदा चामल र तरकारी किन्न नसकेर कोही नेपाली भोको बस्नु पर्ने छैन ।
–एकसरो लुगा लगाउन नपाएर कुनै नेपालीको ज्यान नाङ्गो हुने छैन । गाउँटोलमा तयारी पोसाक उद्योग खोलिनेछ । गाउँठाउँमै पाइने सिस्नोबाट लुगा बुनि तयारी कपडा बनाइनेछ । उद्योगमा बनाउन भ्याइएन भने सिस्नोलाई सिधै कपडामा परिणत गरिनेछ । सिस्नोले पोल्न सक्ने तथ्यलाई मध्यनजर गर्दै त्यसमा टाँसिएका काँडालाई हटाइनेछ र जाडोको बेला ज्यानमा उम्रने काँडासँग मितेरी साइनो गाँसिनेछ । सिस्नोको काँडा र जाडोमा उम्रने काँडाको आपसी सहमतिमा ज्यान न्यानो पारिनेछ ।
– सबै नेपालीको आआफ्नो घर हुनेछ । घर नहुनेलाई नयाँ घरको व्यवस्था गरिनेछ, अहिले भैरहेको कच्ची घरलाई पक्कीमा परिणत गरिनेछ । यसको लागि ‘मेरो घर, घामपानीको छैन डर’ भन्ने नारा तय गरिएको छ । यो नारालाई यथार्थमा बदल्न भरमग्दुर प्रयास गरिनेछ । कथमकदाचित घर बनाउन सकिएन भने घामपानी नै बन्द गरिनेछ । घामपानी नै बन्द भएपछि न पोल्ने डर भयो, न भिज्ने । त्यति भएपछि घर नै किन चाहियो ?
– काम नपाएर बेरोजगार बस्नुपर्ने दिनको अन्त्य गरिनेछ । हरेक घरका एक जनालाई सरकारी जागिरको व्यवस्था मिलाइनेछ । त्यसको लागि कोटा पुगेन भने घरघरमै सरकारी कार्यालय खोलिनेछ । यसको लागि ‘आफ्नै घर, आफ्नै कार्यालय’ अभियान शुरु गरिनेछ । घरमै सरकारी कार्यालय हुँदासमेत काम नपुग्ने परिवारका सदस्यलाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत जुम्रा पार्ने र मार्ने काममा लगाइनेछ । एक जुम्रा पारे बापत १० रुपैयाँ र मारे बापत २० रुपैयाँका दरले पारिश्रमिक उपलब्ध गराइनेछ ।
– अब पढ्नेको लागि स्कुल कलेज धाउनुपर्ने बाध्यताको अन्त्य गरिनेछ । सबैको हातहातमा मोबाइल फोन र सबैको फोनमा टिकटक, फेसबुक, युट्युबजस्ता सामाजिक सञ्जाल भएकाले त्यसकै माध्यमबाट पढाई सञ्चालन गरिनेछ । पढ्नको लागि कसैलाई अनिवार्य र करकाप गरिनेछैन । ‘पढेरभन्दा परेर जानिन्छ’ र ‘हात्ती ठूलो पढेर भएको हाईन’ भन्ने कुरा प्रमाणित गर्न युवालाई परेर जान्ने र बालबालिकालाई नपढी ठूलो हुन सिकाइनेछ । टिकटकमा भाइरल बनाएर त्यसैबाट आयआर्जन गर्न सक्ने क्षमता बढाइनेछ ।
– सडकमाथिका बिजुलीका तार भूमिगत गरिनेछ । खालि तारमा रेल गुडाइनेछ । सडक वारपार गर्नको लागि जेब्राक्रस भएको ठाउँमा समेत सानो रेलको व्यवस्था गरिनेछ । रेल चढेरै सडक वारपार गर्न सकिने वातावरण मिलाएपछि कुनै पनि नेपालीले रेल चढ्न पाइएन भनेर दुखेसो गर्नुपर्ने छैन ।
– गाउँगाउँमा केबलकार पुर्याइनेछ । खेतमा पानी लगाउन र बारीमा मकै गोड्नसमेत केबलकारबाटै जान सक्ने व्यवस्था मिलाइनेछ । खेतबारीको डिलमा भएका ठूल्ठूला रुखलाई केबलकार हिँड्ने पोल र बारीको कान्लामै उम्रिने लहरोलाई तारमा विकसित गरिनेछ । बारीको डिलका रुखका काठको बाकस बनाएर त्यसैलाई केबलकार बनाइनेछ । यसरी स्थानीय सीप र सामग्रीको प्रयोगबाट आधुनिक प्रविधिको उपयोगतालाई जोड दिइनेछ ।
– गाउँगाउँमा अस्पताल बनाइरहने झण्झटबाट मुिक्त दिलाउन रोगव्याधि लाग्नै नदिन भाइरस, ब्याक्टेरिया र कीटाणुलाई पहिल्यै पहिचान गरेर निर्मूल गरिनेछ । गाउँठाउँमा रहेका धामी, झाँक्री र वनझाँक्रीको सहयोगमा सम्भावित चोटपटक, दुर्घटना र भवितव्यलाई चारकोस पर भगाइनेछ । यसरी ‘स्वस्थ नेपाली, सम्मुनत नेपाली’को नारालाई चरितार्थ बनाइनेछ ।
– जन्मनेबित्तिकै वृद्धभत्ता उपलब्ध गराइनेछ ।
यी सबै गर्न पावर चाहिन्छ । उम्मेदवारसँग मात्रै यस्तो पावर हुन्छ । अनि यस्तो पावर भएको उम्मेदवार चुनाव अघिसम्म मात्र हुन्छ । चुनावपछि त कि जनप्रतिनिधि हुन्छ कि पराजित । उनीहरुसँग भएको पावर हेर्न फेरि अर्को चुनाव पर्खनुपर्छ ।