घुमुवाको सेटिङमा मोरङमा तस्करी मौलाउँदै

20.8k Shares

बिराटनगर । मोरङ यतिबेला तस्करहरूको संरक्षित र उर्वर भूमि बनेको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका घुमुवाहरूले तस्करहरूको संरक्षण गर्दै तस्करीको सन्जाल चलाई रहेका छन् । एसपी जनार्दन जिसी सरूवा भई आएको केही महिना तस्करी रोकिए पनि बिगत तीन महिनादेखि भने मोरङका विभिन्न नाकाहरूबाट तस्करी व्यापक मात्रामा चलिरहेको छ । प्रहरीद्वारा संरक्षण भएर तस्करीको लाइन पाउनेहरूमा धेरै जनाको नाम हामीलाई प्राप्त भएको छ । नाजिर मियाँले नोचा नाकाबाट गाई गोरूको तस्करीको लाइन पाएका छन् भने डुमरिया र नोचा नाकाबाट कपडा र किरानाको तस्करीको लाइन पाउनेमा दिलिप साह, सुरेश साह र पंकज साह रहेका छन् ।  त्यसैगरी रंगेलीको नौका चोपडा नाकाबाट बिल्ला भन्ने भारतीयसँग मिलेर राजेश साह, बब्लु साह, तुलसी साहले किराना, केराउ देखि गिट्टीबालुवाको तस्करी गरिरहेका छन् ।  सिक्टी नाकाबाट तस्करीको लाइन पाउनेमा मोहम्मद राजा, अन्सारी, साफिक  र करूवा साह छन् । उनीहरूले केराउ, सुपारी, डिजेल  पेट्रोल नेपालबाट भारत   तस्करी गर्छन् भने भारतबाट किराना सामानको तस्करी गर्दै आइरहेका छन् ।

त्यसैगरी भुटाहा नाकाबाट जहेद आलम र राजेश साहले स्याउ, केराउ, मरिच  र सुपारीको ठूलो तस्करी गरिरहेका छन् भने सिक्टी नाकाबाट साउद्दीन मियाँले गाइगोरूको तस्करी गरिरहेका छन् । सुरेश साह, सवनम खान, गड्डु मियाँ, धिरू कालीले बुधनगर र रानी नाकाबाट कपडाको ठूलो तस्करी चलाएका छन् भने  बुधनगर नाकाबाटै तब्रेज मियाँले भारतबाट रांगा ल्याउने र नेपालबाट हड्डी पठाउने तस्करी गरिरहेका छन् । सम्सुल मियाँले मटेरूवा नाकाबाट केराउ, मरिच र सुपारीको तस्करी गरिरहेका छन् । जगदीश साहले बुधनगर नाकाबाट ठूलो मात्रामा स्याउको भारततर्फ तस्करी गरिरहेका छन् । त्यसैगरी दरैया नाकाबाट नरेश साह र निलम सहनीले गिट्टीबालुवा र सिद्रा माछाको तस्करी गरिरहेका छन् । दरैयाको बखरी एरियाबाट रेणु साहको कपडाको तस्करी व्यापक चलेको छ ।

दरैया नाकाबाट जनार्दन साहको हार्डवेयर र गाडीका पार्टपुर्जाको ठूलो तस्करी लाइन चलेको छ भने सोराभाग नाकाबाट तोहित मियाँको गाइगोरूको तस्करीको लाइन चलेको छ । खयरवना नाकाबाट छेरू साह, उमेश साह, दिलिप साहले नेपालबाट केराउ  र सुपारीको ठूलो तस्करी चलाई  रहेका छन् भने भारतबाट धान, मकै र गहुँको तस्करी नेपाल तर्फ गरिरहेका छन् । रानी र दरैया नाकाबाट बब्लु, लक्ष्मण, काली, धिरू, कपिल, जनार्दन र नरेश समेतले केराउको तस्करी गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट असई हरेन्द्र ठाकुर र सिपाही दीपक गिरी घुमुवाको रूपमा परिचालित छन् ।

मोरङका नौमध्ये तीनवटा छोटी भन्सार सञ्चालनमा छन् । रंगेली र डाइनिया छोटी भन्सारमा दिनभर कर्मचारी बस्छन् । जाँचका लागि वर्ष दिनदेखि एक जना पनि व्यापारी छिरेका छैनन् । रंगेली र डाइनिया भन्सार नाका हुँदै दिनहुँ लाखौं मूल्यका व्यापारिक सामान सीमावर्ती बजारबाट भित्रन्छन् । तर कोही पनि भन्सार तिर्न छिर्दैनन् । भन्सार अधिकृत अमित तिवारीका अनुसार ती छोटी भन्सार नाम मात्रका भएका छन् । उक्त दुई भन्सारमा खुर्सानी र प्याजको राजश्व तिर्नमात्र व्यापारी पस्ने गरेका छन् । धनपालथानमा पर्ने मायागञ्ज छोटी भन्सारले मासिक सरदर ५० हजार रुपैयाँ राजश्व संकलन गर्दै आएको छ । भन्सारसँगै सशस्त्र प्रहरीको उपस्थिति भएकाले यो नाकाबाट केही राजश्व असुली गर्दै आएको तिवारीले बताए ।

सीमावर्ती बुधनगरमा रहेको मधुमल्ला छोटी भन्सार डेढ दशकदेखि बेवारिसे अवस्थामा छ । कुनै समय दैनिक १० हजारसम्म भन्सार महसुल असुली गरेको छ । छोटी भन्सारको नाममा करिव चार किलोमिटर दक्षिण सीमा क्षेत्रमा तरिगामा गोदाम पनि छ । उक्त गोदाम पनि वेवारिसे छ । गोदाम र छोटी भन्सारको सडक हुँदै दैनिक लाखौंका व्यापारीक सामानको अवैध ओसार पसार हुन्छ । यस नाका हुँदै तेस्रो मुलुकबाट आयत भएका मरिच, छोकडा, सुपारीलगायतका सामान भारत चोरी निकासी र भारतीय उत्पादनको चोरी पैठारी नियमित हुने गरेको छ ।भारतसँग करिब ६० किलोमिटर सीमा जोडिएको मोरङमा मायागञ्ज, रंगेली, डाइनिया, डोरिया, चुनीवारी, तरिगामा, मधुमल्ला, कदमाहा र चौकीघाट छोटी भन्सार छन् । तीमध्ये अहिले मायागञ्ज, रंगेली र डाईनिया छोटी भन्सार मात्र सञ्चालनमा छन् ।सञ्चालनमा रहेका छोटी भन्सारले प्याज, आलु, खुर्सानी, माछाको मात्र भन्सार काटेको पाइएको छ । भन्सार अधिकृत तिवारीले भने, ‘ट्रेडिङका अरु सामान पनि छोटी भन्सारबाट आयात हुन्छ तर आयात कर्ताले भन्सार काट्दैनन् ।’

सम्बन्धित समाचार