बझाङमा पुनः परीक्षा दिँदै एमाले नेता महर

7.4k Shares

बझाङ । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज ऐन महर प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पुनः चुनावी प्रतिस्पर्धामा होमिनुभएको छ । 

विद्यार्थी राजनीतिबाट उदाउँदै अनेरास्ववियूको केन्द्रीय अध्यक्ष हुँदै पार्टीको केन्द्रीय नेतृत्वसम्म पुग्नुभएका महरलाई बझाङको राजनीतिमा निरन्तर संघर्ष र संगठन निर्माणमा खारिएको युवा नेताका रूपमा लिइन्छ ।

वि.सं. २०५५ सालदेखि औपचारिक राजनीतिमा सक्रिय रहनुभएका महरले बझाङकै सुनी पीपलचौर माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि काठमाडौं जानुभयो । अध्ययनसँगै राजनीतिमा संलग्न उहाँ अनेरास्ववियूको माध्यमबाट संगठित राजनीतिक यात्रामा होमिनुभएको हो । 

विद्यार्थी जीवनदेखि नै विचार, संगठन र आन्दोलनलाई सँगसँगै अघि बढाउनुभएको महरको राजनीतिक पृष्ठभूमि संघर्षशील छ । वि.सं. २०५० सालमा भएको मदन–आश्रित (दासढुंगा) दुर्घटनापछि सुरु भएको आन्दोलनले आफूलाई पूर्ण रूपमा राजनीतितर्फ आकर्षित गरेको महर बताउनुहुन्छ । 

स्वर्गीय मदन भण्डारीको विचार, भाषण र ‘जनताको बहुदलीय जनवाद’ सँग जोडिएको आन्दोलनमा सक्रिय रहँदै उहाँ एमाले राजनीतिमा दृढतापूर्वक स्थापित हुनुभयो । सोही कालखण्डबाट उहाँ विद्यार्थीको हकअधिकार, सुशासन र भ्रष्टाचारविरुद्धको आन्दोलनमा अग्रपङ्क्तिमा देखिन थाल्नुभयो ।

अनेरास्ववियूको नेतृत्व

२०७६ जेठ ३ गते अनेरास्ववियूको केन्द्रीय अध्यक्ष निर्वाचित हुनुले महरलाई राष्ट्रिय राजनीतिमा चिनाएको थियो । राजधानी केन्द्रित राजनीतिमा सुदूरपश्चिम र कर्णालीबाट नेतृत्व तहमा पुग्नु कठिन मानिँदैआएको सन्दर्भमा उहाँको उदयलाई धेरैले अर्थपूर्ण उपलब्धिका रूपमा लिएका थिए । 

एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समय अनेरास्ववियू देशकै सबैभन्दा ठुलो विद्यार्थी संगठन बनेको थियो, जसको नेतृत्व महरकै हातमा थियो ।

विद्यार्थी संगठनपछि उहाँ एक कार्यकाल नेकपा (एमाले) को केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सह–इन्चार्ज रहनुभयो । हाल उहाँ पार्टीको केन्द्रीय कमिटी सदस्य तथा बझाङ जिल्ला इन्चार्जको जिम्मेवारीमा हुनुहुन्छ । संगठनभित्र निरन्तर सक्रियता, कार्यक्षमता र कार्यकर्ता माझको पहुँचका आधारमा नेतृत्वले जिम्मेवारी दिएको महरको भनाइ छ ।

२०७९ मा झिनो हार

महर २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि उम्मेदवार बन्नुभएको थियो । तत्कालीन गठबन्धनका उम्मेदवार भानुभक्त जोशीसँग उहाँ ९ सय ९८ मतको झिनो अन्तरले पराजित हुनुभएको थियो । यो हार सुदूरपश्चिम प्रदेशकै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सबैभन्दा कम मत अन्तरको पराजय थियो । 

पराजयपछि पनि उहाँ निष्क्रिय नबनी जिल्लाभर घरदैलोमा पुगेर मतदातालाई धन्यवाद ज्ञापन गर्दै संगठन सुदृढीकरणमा लागिरहनुभयो । गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धा गरेर प्राप्त मतले उहाँको व्यक्तिगत राजनीतिक प्रभाव पुष्टि गरेको राजनीतिक विश्लेषकको भनाइ छ । 

चुनौती र सम्भावना

आगामी निर्वाचनमा महरका लागि मुख्य चुनौती अघिल्लो निर्वाचनको परिणामलाई उल्ट्याउनु हो । एमाले संगठन बझाङमा सुदृढ रहेको दाबी गर्दैआएका महर पार्टीभित्रको एकता, संगठनात्मक शक्ति र जनतासँगको निरन्तर सम्पर्क नै आफ्नो मुख्य आधार भएको बताउनुहुन्छ । उहाँले विकास, पहुँचविहीनता, सडक, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयलाई संसदमा प्राथमिकतासाथ उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

महर भन्नुहुन्छ, “बझाङको समस्या मैले नजिकबाट देखेको र भोगेको छु । प्रतिनिधि सभामा ती मुद्दा बुलन्द रूपमा उठाएर समाधानतर्फ लैजान्छु । पदमा रहँदा वा नरहँदा जनताको पक्षमा काम गर्दैआएको छु । बझाङबासी मेरो जितको प्रतीक्षामा हुनुहुन्छ ।”

सम्बन्धित समाचार