नाबालिकाको प्रयोगदेखि प्रहरीसँग साँठगाँठसम्मका गम्भीर उजुरी बिर्तामोडका मसाज, स्पा र डान्सबारमा अनैतिक गतिविधि

6.4k Shares

बिर्तामोड (झापा) ।  झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा सञ्चालित केही मसाज केन्द्र, स्पा र डान्सबारहरूमा अनैतिक तथा गैरकानुनी गतिविधि भइरहेको भन्ने गम्भीर आरोप र उजुरीहरू सार्वजनिक भएका छन्।

ती उजुरीहरूमा नाबालिकालाई प्रयोग गरिएको, अवैध गतिविधि लुकाउन प्रहरीसँग साँठगाँठ भएको, तथा आर्थिक लेनदेनमार्फत संरक्षण पाइरहेको जस्ता विषय समेटिएका छन् । स्थानीय बासिन्दा, सामाजिक अभियन्ता र विभिन्न स्रोतबाट आएको सूचनाले बिर्तामोडमा पछिल्लो समय खुलेका केही मनोरञ्जन र सेवा केन्द्रहरू कानुनको मर्मविपरीत सञ्चालन भइरहेको दाबी गरिएको छ।

मसाज र स्पा केन्द्रहरू स्वास्थ्य, आराम र सौन्दर्य सेवाका लागि दर्ता हुने व्यवस्था छ। तर स्थानीयस्तरमा आएको गुनासोअनुसार बिर्तामोडका केही केन्द्रहरू दर्ता उद्देश्यभन्दा फरक गतिविधिमा संलग्न छन्।एक स्थानीय बासिन्दाले भने, “कागजमा सबै नियम पूरा भएको देखाइन्छ, तर भित्र के भइरहेको छ भन्ने कुरा नियमन गर्ने निकायले नै नदेखेझैँ गरेको आरोप छ।” उनका अनुसार ती केन्द्रहरूमा काम गर्ने कर्मचारीको उमेर, कामको प्रकृति र कार्य समयबारे कुनै स्पष्टता छैन।

सबैभन्दा संवेदनशील र गम्भीर आरोप भने नाबालिकालाई प्रयोग गरिएको विषयमा उठेको छ। केही सामाजिक अभियन्ताहरूले उमेर नपुगेका किशोरीहरू काममा संलग्न गराइएको सूचना आफूहरूसम्म आएको बताएका छन्।बाल अधिकारकर्मीहरूका अनुसार यदि यस्तो दाबी प्रमाणित भएमा यो बाल अधिकार ऐन र मानव बेचबिखनसम्बन्धी कानुनको गम्भीर उल्लंघन हुनेछ। “नाबालिकासम्बन्धी कुनै पनि उजुरीलाई तत्काल छानबिन गरेर उद्धार र संरक्षणको प्रक्रिया थाल्नुपर्छ,” एक अधिकारकर्मीले बताए।

स्थानीयस्तरमा उठेका उजुरीमध्ये अर्को गम्भीर विषय भने प्रहरीसँगको साँठगाँठ हो। गुनासोअनुसार अवैध गतिविधि भइरहेकै स्थानहरू लामो समयसम्म निर्बाध रूपमा सञ्चालन हुनु नियमन कमजोर भएको संकेत हो।केही स्थानीय व्यापारी र सर्वसाधारणले आर्थिक लेनदेनका आधारमा संरक्षण दिइएको हुन सक्ने आशंका व्यक्त गरेका छन्। यद्यपि यसबारे आधिकारिक पुष्टि भएको छैन।

इलाका प्रहरी कार्यालय बिर्तामोडले भने यस्ता आरोपहरूलाई आधारहीन भन्दै आएको छ। प्रहरी स्रोतका अनुसार उजुरी आएमा कानुनअनुसार छानबिन र कारबाही गर्न तयार रहेको दाबी गरिएको छ। उजुरीहरूमा घुमुवा प्रहरी को भूमिकामाथि पनि प्रश्न उठाइएको छ। केही स्रोतले घुमुवा प्रहरीहरू निगरानीभन्दा बाहिर गएर डान्सबार र विवादित स्थलमा पुग्ने गरेको दाबी गरेका छन्।यसले निष्पक्ष अनुगमन र कारबाहीप्रति शंका उत्पन्न गराएको स्थानीयहरूको भनाइ छ। तर प्रहरी प्रशासनले भने फिल्ड अनुगमनका क्रममा विभिन्न स्थानमा पुग्नु नियमित प्रक्रिया भएको स्पष्ट पारेको छ।

मसाज र स्पासँगै बिर्तामोडमा सञ्चालित केही डान्सबारहरू पनि विवादमा तानिएका छन्। ती डान्सबारहरूमा सार्वजनिक मर्यादा र कानुनी सीमाभन्दा बाहिरका गतिविधि हुने गरेको उजुरी परेको छ।स्थानीय बासिन्दाहरूले यस्ता गतिविधिले समाजमा नकारात्मक प्रभाव पार्ने, विशेषगरी युवा र किशोरकिशोरीमा गलत सन्देश जाने बताएका छन्। “मनोरञ्जनको नाममा समाजको मूल्य र मर्यादा कमजोर बनाइँदै छ,” एक अभिभावकले गुनासो गरे।

नेपालको कानुनअनुसार मसाज, स्पा र मनोरञ्जन व्यवसाय स्पष्ट दर्ता र नवीकरण बिना सञ्चालन गर्न पाइँदैन , नाबालिकालाई कुनै पनि जोखिमपूर्ण वा अनुचित कार्यमा संलग्न गराउन निषेध छ र आचारसंहिता उल्लंघन भएमा जरिवाना, लाइसेन्स खारेजी र फौजदारी कारबाही को व्यवस्था छ। तर यी प्रावधान कडाइका साथ कार्यान्वयन नभएको आरोप उठिरहेको छ।

स्थानीय तहले व्यवसाय दर्ता र अनुगमन गर्ने जिम्मेवारी पाउँछ। तर बिर्तामोडमा नियमित अनुगमन नभएको, वा अनुगमन औपचारिकतामै सीमित भएको आरोप छ।एक पूर्वप्रशासनिक अधिकारीका अनुसार “प्रहरी, स्थानीय तह र सरोकारवाला निकायबीच समन्वय नहुँदा यस्ता समस्या मौलाउँदै जान्छन्।”

यी सबै आरोपको केन्द्रमा सम्भावित पीडितहरू छन्। तर डर, सामाजिक बदनामी र रोजगारी गुम्ने चिन्ताले धेरैले आवाज उठाउन नसकेको बताइन्छ।मानव अधिकारकर्मीहरू भन्छन्, “पीडितमैत्री उजुरी प्रणाली, गोपनीयता र पुनस्र्थापना कार्यक्रम बिना वास्तविकता बाहिर आउँदैन।”

सामाजिक अभियन्ताहरूले स्वतन्त्र छानबिन समिति गठन, संयुक्त अनुगमन, र दोषीमाथि कडा कारबाही को माग गरेका छन्। उनीहरूका अनुसार नाम चलेका वा प्रभावशाली व्यक्तिका कारण कानुन कमजोर बन्नु हुँदैन।

बिर्तामोडका मसाज, स्पा र डान्सबारलाई लिएर उठेका आरोपहरू गम्भीर र संवेदनशील छन्। यी विषयहरूलाई भावनामा होइन, प्रमाणका आधारमा टुंगोमा पु¥याउन आवश्यक छ।यदि उजुरीहरू सही ठहरिए भने दोषी जो–कोही भए पनि कानुनअनुसार कडा कारबाही हुनुपर्छ।

सम्बन्धित समाचार