सुरक्षाकर्मीको आँखै अगाडि तस्करी : पशुपति नगर नाका खुला बजारजस्तै

7.1k Shares

इलाम, पशुपति नगर । भारतसँग जोडिएको इलामको पशुपति नगर नाका अहिले तस्करीको मुख्य केन्द्र बनेको छ। मुख्य नाकामात्र होइन, वरपरका साना नाकाबाट समेत खुलेआम तस्करी भइरहँदा पनि नियन्त्रण संयन्त्र पूर्ण रूपमा असफल देखिएको छ।स्थानीयवासीका अनुसार दैनिक रूपमा किराना सामान र कपडाको ठूलो परिमाणमा तस्करी भइरहेको छ। अचम्मको कुरा, सीमामा भन्सार कार्यालय, नेपाल प्रहरी तथा सीमा सुरक्षा र चोरी–तस्करी नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल तैनाथ हुँदाहुँदै पनि तस्करी रोकिएको छैन।

इलाम जिल्लाको पशुपतिनगर नाका प्रयोग गरी प्रहरीसँगको मिलेमतोमा तस्करी हुने गरेको तथ्य बाहिर आएको छ। ठूलो परिमाणको सामान कानुनी प्रक्रिया अनुसार मेची भन्सार हुँदै भित्रिनुपर्ने भए पनि राजस्व छली गर्ने उद्देश्यले तस्करहरूले वैकल्पिक रूपमा पशुपतिनगर नाकाको प्रयोग गर्ने गरेको पाइएको छ।

स्थानीय स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा हुने अवैध ओसार–पसारमा केही सुरक्षाकर्मीको संलग्नता रहेको आशंका गरिएको छ। नियमित अनुगमनको अभाव र कमजोर नियन्त्रणका कारण तस्करीका गतिविधि बढ्दै गएको जनगुनासो छ।यस प्रकारको अवैध कारोबारले सरकारलाई ठूलो मात्रामा राजस्व नोक्सानी पु¥याउनुका साथै वैध व्यापारमा समेत नकारात्मक प्रभाव पारिरहेको छ। सम्बन्धित निकायले यस्ता गतिविधिमाथि छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग स्थानीय बासिन्दाले गरेका छन्।

तस्कर समूहले इलाम जिल्लाका पशुपती–मानेभञ्ज्याङ र हिले नाकाबाट अवैध रूपमा विभिन्न सामान भित्र्याउने गरेको पाइएको छ। ती सामानहरू सीमावर्ती क्षेत्रमा भित्र्याएपछि सोही स्थानमा भण्डारण गरी समय अनुकूल मिलाएर बौद्धधाम र फिक्कल हुँदै झापाका विभिन्न बजारसम्म पु¥याउने गरिएको दाबी गरिएको छ।

हाल उक्त नाकाबाट औषधि मात्र नभई खाद्यान्न, लत्ताकपडा तथा अन्य उपभोग्य सामग्रीसमेत तस्करीमार्फत भित्रिरहेको जनाइएको छ। यसरी अवैध रूपमा आयात गरिएका सामानहरू भन्सार प्रक्रिया पूरा नगरी बजारमा बिक्री हुने भएकाले राज्यलाई ठूलो मात्रामा राजस्व नोक्सानी भइरहेको छ।

स्थानीयले दिएको जानकारीअनुसार मोटरसाइकल, ट्याक्टर तथा बोकेरै भारतबाट सामान नेपाल भित्र्याइने गरेको छ। बिहान र साँझको समयमा तस्करी झनै बढ्ने गरेको स्थानीयको भनाइ छ।“सबैलाई थाहा छ कहाँबाट र कहिले सामान आउँछ, तर कसैले रोकेको देखिँदैन,” एक स्थानीयले नाम नखुलाउने सर्तमा बताए।

मुख्य नाकामा कहिलेकाहीँ चेकजाँच कडा भए पनि तस्करहरूले वरपरका साना र अवैध नाकाहरू प्रयोग गर्ने गरेका छन्। ती स्थानमा न स्थायी सुरक्षा पोस्ट छ, न नियमित गस्ती।यसले तस्करीलाई थप सुरक्षित र सहज बनाएको स्थानीयको दाबी छ।स्थानीयवासीहरूले तस्करीमा संलग्न समूहलाई भन्सार कर्मचारी र सुरक्षाकर्मीको सहयोग तथा संरक्षण रहेको गम्भीर आरोप लगाएका छन्। उनीहरूका अनुसार संरक्षण बिना यति ठूलो मात्रामा तस्करी सम्भव छैन।“यदि संरक्षण छैन भने यत्रो सामान कसरी दिनहुँ पास हुन्छ ?” एक स्थानीय व्यवसायीले प्रश्न गरे।

तस्करीका कारण राज्यले ठूलो मात्रामा राजस्व गुमाइरहेको छ भने वैध रूपमा व्यापार गर्ने स्थानीय व्यवसायीहरू सस्तो अवैध सामानसँग प्रतिस्पर्धा गर्न नसकेर धराशायी बन्दै गएका छन्।यस विषयमा पशुपति नगर भन्सार कार्यालय, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका स्थानीय प्रमुखहरूसँग प्रतिक्रिया लिन खोज्दा स्पष्ट जवाफ प्राप्त हुन सकेन।तर सुरक्षा निकायले यसअघि तस्करी नियन्त्रणका लागि नियमित निगरानी भइरहेको दाबी गर्दै आएका छन्।

स्थानीयवासीहरूले पशुपति नगर नाकामा भइरहेको तस्करीबारे निष्पक्ष छानबिन,दोषीमाथि कडा कारबाही, साना नाकामा कडा सुरक्षा व्यवस्था गर्न माग गरेका छन्।समयमै नियन्त्रण नगरे पशुपति नगर नाका संस्थागत तस्करीको केन्द्र बन्ने खतरा रहेको उनीहरूको चेतावनी छ।6daafb15-32a2-4b38-a13f-b05e985ffe1e.jfif5773fd1c-ad92-4089-a619-8cb68e243409.jfif

सम्बन्धित समाचार