अभियुक्त अज्ञात, प्रहरी अनुसन्धान मौन !

5.8k Shares

रूपन्देही — कञ्चन गाउँपालिका–३, धौलागिरी चोकमा १७ वर्षीय ईशान शर्मा पौडेलको शव नालीमा फेला परेको घटनाले जिल्लामा सनसनी फैलिएको छ। घटनाको तेस्रो दिनसम्म पनि अभियुक्त सार्वजनिक हुन नसक्दा प्रहरी अनुसन्धानको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ।ईशानको शव नालीमा भेटिएपछि हत्या भएको थियो। तर प्रारम्भिक अनुसन्धान सकिनु अघि नै समय बित्दै जाँदा पीडित परिवार र स्थानीय बासिन्दामा आक्रोश बढ्दै गएको छ।

हत्या जस्तो गम्भीर अपराधमा प्रारम्भिक ४८–७२ घण्टालाई महत्वपूर्ण मानिन्छ। यही अवधिमा उल्लेखनीय प्रगति नदेखिएको भन्दै टोल विकास संस्था, आमा समूह लगायतका स्थानीयले इलाका प्रहरी कार्यालय रुद्रपुर घेराउ गर्दै छिटो र निष्पक्ष अनुसन्धानको माग गरेका छन्। उनीहरूको भनाइमा, दोषी पहिचान र पक्राउमा ढिलाइ हुँदा न्याय प्रक्रियामाथि नै असर पर्ने खतरा छ।

घटनासँगै अनुसन्धानमा संलग्न केही प्रहरी कर्मचारीको भूमिकालाई लिएर स्थानीयस्तरमा प्रश्न उठेको छ। विशेषगरी घुमुवा प्रहरी प्रणालीको पारदर्शिता र सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणमा प्रहरीको भूमिकाबारे चासो व्यक्त गरिएको छ।हत्या घटनासँगै जिल्ला प्रहरी कार्यालयबाट परिचालित भनिएका हवल्दार बररूद्दिन भाट र बैजनाथ यादवको भूमिकाबारे स्थानीयस्तरमा विभिन्न प्रश्न र आरोपहरू उठ्न थालेका छन्।

स्थानीय बासिन्दाहरूका अनुसार ती प्रहरी कर्मचारीहरू घटनाको अनुसन्धानमा अपेक्षित रूपमा सक्रिय देखिनुको साटो सीमावर्ती क्षेत्रका तस्करहरूसँग सम्पर्कमा रहने, उनीहरूसँग उठबस गर्ने तथा आर्थिक लेनदेनमा संलग्न हुने गरेको आरोप यसअघि पनि सुनिँदै आएको छ। स्थानीय नागरिक र सामाजिक संघ–संस्थाहरूले यो घटनालाई केवल व्यक्तिगत कमजोरी नभई प्रहरी संगठनभित्र देखिँदै आएका संरचनागत समस्यासँग जोडेर हेर्नुपर्ने बताएका छन्।लामो समय एउटै जिल्लामा बसाइँ, आन्तरिक निगरानीको कमजोरी र अनुसन्धान प्रक्रियामा ढिलाइ जस्ता विषयहरू सार्वजनिक बहसमा आएका छन्।

निरन्तर विवादमा तानिँदै आएका प्रहरी कर्मचारीहरूमाथि छानबिन नगर्दा आम नागरिकको प्रहरी प्रशासनप्रतिको विश्वास कमजोर बन्दै जाने चिन्ता स्थानीय समाजसेवी तथा नागरिक अगुवाहरूले व्यक्त गरेका छन्। उनीहरूले निष्पक्ष अनुसन्धान र आवश्यक परे सम्बन्धित प्रहरी कर्मचारीहरूको भूमिकाबारे आन्तरिक छानबिन गर्न माग गरेका छन्। ईशान शर्मा पौडेलको हत्या प्रकरणले रूपन्देहीमा सुरक्षा व्यवस्था र अनुसन्धान प्रणालीको प्रभावकारितामाथि गम्भीर बहस सुरु गराएको छ।

सम्बन्धित समाचार