दाङको लमही क्षेत्रमा अपराध बढ्दो, केही दिनको अन्तरमा दुई गोली काण्ड

9.7k Shares

लमही (दाङ)। दाङको लमही क्षेत्रमा पछिल्लो समय आपराधिक गतिविधि बढ्दै गएको छ। केही दिनको अन्तरमा दुईवटा गोली प्रहारका घटना भएपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ भने शान्ति सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।

हालै लमही नगरपालिका क्षेत्रभित्र अज्ञात समूहले गोली प्रहार गरेको घटना भएको हो। यसअघि पनि सोही क्षेत्रमा अर्को गोली काण्ड भएको थियो। लगातार भएका यस्ता घटनाले अपराधी समूहहरू सक्रिय रहेको आशंका बढाएको छ।दाङ देउखुरीको लमहीमा सुनचाँदी पसलका सञ्चालकमाथि गोली प्रहार भएको एक सातापछि पुनः गोली चलेको छ। यसपटक लमहीकै रातोडाँडास्थित एक होटलमा गोली चल्दा एक जना युवक घाइते भएका छन्।

शनिबार बिहान रातोडाँडामा रहेको रोयल प्यालेस होटलमा पेस्तोलबाट गोली पड्किँदा सोही होटलमा कार्यरत १८ वर्षीय सिसम गौतम घाइते भएका हुन्।जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता चक्रबहादुर शाहका अनुसार गोली लागेर गौतमको हातको औँलामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको र उपचारपछि खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले होटल परिसरलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। गोली कसले र किन चलाएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

स्थानीयवासीका अनुसार पछिल्लो समय चोरी, धम्की र हिंसात्मक गतिविधि बढ्दै गएको छ। उनीहरूले प्रहरी गस्ती कमजोर भएको भन्दै सुरक्षा व्यवस्था कडा बनाउन माग गरेका छन्।जिल्ला प्रहरी कार्यालय दाङले घटनाबारे अनुसन्धान भइरहेको र संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य तीव्र बनाइएको जनाएको छ। प्रहरीका अनुसार दोषीहरूलाई छिट्टै नियन्त्रणमा लिइनेछ र क्षेत्रमा थप सुरक्षा व्यवस्था लागू गरिनेछ।लगातार भइरहेका गोली काण्डले लमही क्षेत्रको शान्ति सुरक्षामा चुनौती थपिएको भन्दै सरोकारवालाहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

लमही क्षेत्रका स्थानीय बासिन्दाहरूका अनुसार प्रहरी प्रशासन नदीजन्य पदार्थको उत्खनन तथा अन्य विभिन्न क्षेत्रबाट हुन सक्ने आम्दानी र असुलीमा बढी केन्द्रित हुँदा लमही क्षेत्रमा शान्ति सुरक्षा कमजोर बन्दै गएको छ।

स्थानीयहरू भन्छन् कि चोरी, झै–झगडा, अवैध गतिविधि तथा सामाजिक विकृति बढ्दै गइरहेका छन् तर त्यसतर्फ आवश्यक निगरानी र कारबाही हुन सकेको छैन। प्रहरीको मुख्य दायित्व नागरिकको जिउधनको सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्नु भए पनि त्यसतर्फ अपेक्षित ध्यान नदिइएको उनीहरूको गुनासो छ।यस विषयमा सम्बन्धित निकायले गम्भीर ध्यान दिनुका साथै शान्ति सुरक्षा मजबुत बनाउन प्रभावकारी कदम चाल्नुपर्ने स्थानीयको माग रहेको छ।

सम्बन्धित समाचार