काठमाण्डौ – पूर्व राष्ट्रपति डा. रामवरण यादवले दृष्टि आँखा तथा नाक, कान, घाँटी अस्पताल विरगञ्जको नवनिर्मित भवन उद्घाटन गर्नुभएको छ । नवनिर्मित अस्पताल भवनमा अत्याधुनिक अपरेशन थिएटर, विशिष्ठ ओपिडी कक्ष, आधुनिक डाइग्नोस्टिक उपकरणसहितको प्रविधि र उपकरण जडानबाट सेवा प्रवाह थप गुणस्तरीय र उपचार सहज भएको अस्पतालले जनाएको छ ।
अस्पताल भवन उद्घाटन समारोहमा पूर्व राष्ट्रपति डा. यादवले आउँदो दिनमा तराई/मधेशका नागरिकलाई अझ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान हुने विश्वास व्यक्त गर्नुभयो । आँखा उपचारमा नेपालका सरकारी र निजी क्षेत्रले दक्षिण एशियामै गुणस्तरीय सेवा प्रदान गरेर गर्दै आएका समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा दृष्टि आई केयर सिस्टमका संस्थापक तथा सिईओ डा. भाइराजा श्रेष्ठले ‘सबैको लागि दृष्टि सधैको लागि दृष्टि’ भन्ने मूल सेवा भावका साथ विगत डेढ दशकको अनुभवबाट आउँदा दिनमा थप गुणस्तरीय, भरपर्दाे, सुलभ र सहज स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयोे । उहाँले आउँदा दिनमा उच्च प्रविधियुक्त र डिजिटल प्रणालीको उपयोग गरी सेवालाई थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विरगन्ज दृष्टि आँखा तथा नाक, कान, घाँटी अस्पतालका अध्यक्ष विश्वराज गौतमले सेवाग्राहीको विश्वास, स्थानीय समुदायको सहयोग एवम् शेयर सदस्यको सेवा भावको प्रशंसा गर्नुभयो । दृष्टि आँखा तथा नाक, कान, घाँटी अस्पताल विरगञ्जले विगत एक दशकदेखि बिना इन्जेक्सन मोतिविन्दुको अपरेसन, अपरेसनपछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बालबालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलविन्दु उपचार, नाक, कान, घाँटीको उपचारलगायतका सेवा प्रदान गर्दै आएको अस्पतालका मेडिकल डाइरेक्टर डा. हरि शर्माले बताउनुभयो ।
स्मार्ट फोनको बढ्दो प्रयोग र लामो समय स्क्रिनको प्रयोग गर्ने बानीले आँखामा पर्न सक्ने नकारात्मक असर तथा आँखाको सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालनमा समेत दृष्टि आइ केयर सेन्टरले योगदान दिदै आएको अस्पतालले जनाएको छ ।
भवन उद्घाटन तथा अस्पतालको ११औं वार्षिकोत्सवको अवसरमा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.राधाकृष्ण कोइराला र वरिष्ठ आँखा तथा नाक, कान, घाँटी रोगका विशेषज्ञ डा. विरसिंह थापालाई सम्मान समेत गरिएको छ । दृष्टि आँखा तथा नाक, कान घाँटी अस्पताल झापाको विर्तामोड, विरगन्जका साथै काठमाण्डौको कलङ्की, चावहिल, बानेश्वर, जमल र ओम अस्पताललगायत ११ वटा शाखा सञ्चालनमा रहेको छ ।