कोशी प्रदेश प्रहरी कार्यालयमा निरीक्षक पोखरेलको आंतक

8.3k Shares

काठमाण्डाैँ। हाल कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी इश्वर कार्की एआइजीको प्रतिस्पर्धामा छन्। उनको विगत देखिको कार्यशैली त्यति बिबादमा परेको पनि छैन। जहाँ पोष्टिङ भए पनि उनी बिबादमा परेका छैनन्।

महोत्तरी जस्तो जिल्लामा कार्यरत रहदा पनि उनी बिबादमा परेनन्। अहिले कोशी प्रदेश प्रहरी प्रमुख हुदा पनि त्यही अवस्था छ। तर उनै प्रमुख रहेको कार्यालयमा एक जना प्रहरी निरीक्षकको भने आंतक नै रहेको छ। त्यो कुरा उनले थाहा पाएर पनि चुप लागेका हुन् या संरक्षण गरेका हुन, त्यो भने यहीं  कार्यालयमा काम गर्ने धेरै प्रहरीले भने बुझ्न सकेका छैनन्। ती प्रहरी निरीक्षक हुन, कृष्ण पोखरेल। 

मोरङ नै घर भएमा उनको दरबन्दी बिराटनगर गणमा हो। गणमा दरबन्दी भए पनि उनलाई गणबाट प्रदेश प्रहरी कार्यालयमा ल्याउन चौतर्फि दबाब दिने व्यक्ति हुन जीवन आचार्य। कोशी प्रदेशको प्रदेश सभा सदस्य रहेका उनी नेकपाका संयोजक पुष्पकमल दाहालका कान्छो ज्वाइँ हुन्। अर्थात गंगा दाहालको श्रीमान। यिनै जीवन आचार्यको जोडवल र सिफारिसमा निरीक्षक पोखरेल गणबाट प्रदेश प्रहरी कार्यालय आउन सफल भएका हुन्।

प्रदेश प्रहरी कार्यालय आउन त सफल भए, त्यसपछि झन् महत्त्वपूर्ण र प्रहरी भित्र अतिरिक्त कमाई हुने भनेर चिनिने शाखा उजुरी छानबिन शाखाको प्रमुख बन्न सफल भए। उनको विगत देखिको विवादास्पद छविको बारेमा डिआइजी इश्वर कार्कीले थाहा नपाएर पनि हुन सक्छ निरीक्षक पोखरेललाई उजुरी छानबिन शाखाको प्रमुख बनाई दिए । त्यसपछि त के चाहियो र पोखरेललाई।

उनी इलाका प्रहरी कार्यालय काकडभिट्टामा कार्यरत रहदा धेरै मात्रै होइन अति धेरै बदनाम मात्रै भएनन् कि उनका काण्डै काण्ड भए। उनको त्याहां कार्यरत रहदाका असुलीका काण्डका बारेमा त्यतिबेला धेरै पेपर, अनलाइन र टेलिभिजनहरूमा समेत धेरै समाचारहरू आएका थिए। तस्करी गर्ने मात्रै होइन कि भन्सार तिरेर सामान ल्याउने व्यापारीहरूलाई समेत रकम नदिएको कारण धेरै दुख दिएको भन्दै चौतर्फि विरोध भए पछि उनी काकडभिट्टाबाट हटाइएका थिए। त्यसपछि बिराटनगर गणमा पुगेका थिए । यस्ता बदनाम निरीक्षक पोखरेललाई प्रहरी प्रहरी कार्यालयमा काजमा ल्याएर फेरि उजुरी छानबिन जस्तो महत्त्वपूर्ण शाखाको जिम्मेवारी दिइएको छ। 

उजुरी छानबिनको जिम्मेवारी पाएपछि उनले झापा, सुनसरी र मोरङका जिल्ला प्रहरी कार्यालयबाट मात्रै होइन मातहतका वडा प्रहरी, इप्रका, अन्य थाना चौकीमा सिभिलमा कार्यरत तत्लो तहका प्रहरीलाई अनेकौं दुख दिने गरेका छन्। महिना, महिनामा ती सिभिलमा खटिएकाहरू भेट्न आएनन् भने आंफैले उजुरी हाल्ने वा कसैलाई हाल्न लगाएर छानबिनका लागि बोलाउने र दुख दिने काम गर्दै आएका छन्।

झापा, मोरङ र सुनसरी जिल्लामा सिभिलमा खटिएका प्रहरीलाई उनले धेरै, धेरै, धेरै दुख दिएका छन्। अनि बाध्य भएर ती घुमुवाहरूले पैसा बुझाउन बाध्य भएका छन्। अब उनको बारेमा भने कसले छानबिन गर्ने, डिआइजी कार्कीले कि हेड्क्वाटरको छानबिन महाशाखाले ? जसले गरे पनि छिटो छानबिन गरेर उनलाई त्यो ठाउँबाट हटाई दिए हुने थियोे।

सम्बन्धित समाचार