त्रिविमा निर्माणाधीन चमेना गृह भवन निर्माणमा अवरोध गर्नेलाई कारबाही गर्न निर्माण व्यवसायीको माग

7k Shares

काठमाण्डौ – कीर्तिपुर निर्माण व्यवसायी सङ्घले त्रिभुवन विश्वविद्यालयमा निर्माणाधीन चमेना गृह भवन निर्माणमा अवरोध गर्नेलाई कारबाही गर्न माग गरेको छ । सङ्घले आज विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक अर्याल, रेक्टर खड्ग केसी लगायतका पदाधिकारीहरुलाई भेटेर कारबाही गर्न माग गरेको हो ।

सङ्घले निर्माण व्यवसायीले सम्पूर्ण प्रक्रिया पूरा गरी ठेक्का प्रक्रियामार्फत चमेना गृहको निर्माण थालेपनि अनुचित लाभ उठाउने नियतले केही विद्यार्थी नेताहरुले बार्गेनिङ गरेको आरोप लगाएको छ । निर्माण व्यवसायीलाई धम्काउने, तर्साउने तथा निर्माण कार्य रोक्ने गतिविधि भएको काठमाण्डौ  उपत्यकाका निर्माण व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष कविन्द्र महर्जनले जानकारी दिनुभयो ।

उहाँले निर्माण व्यवसायीसँग पैसा माग्ने, थर्काउनेलाई तत्काल कारबाहीको दायरमा ल्याएर निर्माण कार्य सहज रूपमा सञ्चालन गर्ने वातावरण बनाउन माग गर्नुभयो । उहाँले विश्वविद्यालयको निर्माण कार्यमा स्थानीय बासीलाई प्राथमिकतामा राख्ने विगतको सम्झौतालाई पनि स्मरण गराउनुभयो । त्रिभुवन विश्वविद्यालयका रेक्टर खड्ग केसीले विद्यार्थीमाथी भएको कुटपिट र निर्माण व्यवसायीसँग बार्गेनिङ गरिएको भन्ने दुवै घटनाको अनुसन्धान गर्ने बताउनुभयो ।

उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारको कार्यालयको बीचमा निर्माण हुन लागेको चमेना गृह निर्माण परियोजना विद्यार्थीहरूको विरोधका कारण अस्थायी रूपमा रोकिएको छ । साउनदेखि शुरु गरेको निर्माण प्रक्रियामा विद्यार्थीले रुख नकाट्न र त्यो क्षेत्रमा नबनाउन त्रिवि प्रशासनलाई दबाब दिँदै आएका थिए । गएको मङ्गलवार त्यही विषयलाई लिएर विद्यार्थी र निर्माण व्यवसायी बिच झडपको स्थिति सृजना भएको थियो । 

सम्बन्धित समाचार