काठमाण्डौ – नेकपा एमालेले गएको भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घटनाको छानबिनका लागि गठन भएको गौरीबहादुर कार्की आयोगलाई अस्वीकार गर्ने जनाएको छ । २३ पन्ने अन्तरपार्टी निर्देशन (अपानी) मार्फत् एमालेले सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा निष्पक्ष छानबिन आयोग गठन गर्न माग गरेको छ ।
अहिलेको आयोगले घटनाको स्वतन्त्र छानबिन गर्न नसक्ने र यो आयोगबाट निष्पक्षताको अपेक्षा गर्न नसकिने अपानीमा उल्लेख छ । एमालेले विधान महाधिवेशन, त्यसपछि भएका सचिवालय र केन्द्रीय कमिटीका बैठक समेटेर अपानी जारी गरेको हो । अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अपानीमा भदौ २३ र २४ को जेन–जी आन्दोलन, त्यसले निम्त्याएको अवस्था र पार्टीको आसन्न ११औं महाधिवेशनका बारेमा उल्लेख गरिएको छ ।
पोखरामा गर्ने भनिएको ११औं महाधिवेशन अहिलेको विषम अवस्थाका कारण काठमाण्डौमा सारिएको उल्लेख छ । साथै एमालेले प्रतिनिधिसभा विघटनप्रति आपत्ति प्रकट गर्दै विघटित प्रतिनिधिसभा पुनस्थापनाको माग समेत गरेको छ ।