नयाँ दिल्ली । भारतीय क्रिकेट टिमका अनुभवी स्पिनर हरभजन सिंहले क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । उनले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत सन्यासको घोषणा गरेका हुन् । यसका साथै उनको २३ वर्षको करियरको अन्त्य भएको छ ।
४१ वर्षीय हरभजनले लेखेका छन् ,' सबै राम्रा कुराको अन्त्य हुन्छ र आज म त्यो खेललाई विदाइ दिन्छु । जसले मलाई जीवनमा सबै कुरा दिएको छ , म सबैलाई धन्यवाद दिन्छु ।'
हरभजन पछिल्लो आइपीएल सिजनमा कोलकाता नाइट राइडर्ससँग जोडिएका थिए । स्पिनर सिंहले पछिल्लो आइपीएलमा जम्मा ३ खेल खेलेका थिए, जसमध्ये उनले एउटा खेलमा पनि सफलता पाउन सकेनन् ।
हरभजन सिंह अर्को आइपीएल सिजनका लागि कुनै एक टोलीलाई प्रशिक्षक वा मेन्टरको रूपमा सामेल हुनसक्छन् । हरभजन सिंहले सन् २०१६ मा भारतका लागि आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेका थिए । हरभजनले आफ्नो बलिङबाट टीम इण्डियाका लागि धेरै खेल जितेका थिए ।
उनले कोलकाताको इडेन गार्डेनमा २००१ मा अस्ट्रेलिया विरुद्धको ऐतिहासिक टेस्ट खेल खेलेका थिए । यसबेला हरभजन २१ वर्षका थिए । त्यो खेलपछि हरभजन सिंह टीम इन्डियाको महत्वपूर्ण हिस्सा बनेका थिए ।
२००० देखि २०१० सम्म हरभजन सिंह र लेग स्पिनर अनिल कुम्बलेको जोडीले भारतीय स्पिनको अगाडि कब्जा जमाएको थियो ।