बंगलादेशमा फेरिमा आगो लाग्दा कम्तीमा ३६ जनाको मृत्यु

19.8k Shares

ढाका, पुस ९ । बंगलादेश शुक्रबार बिहान एउटा फेरिमा आगो लाग्दा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । समाचार संस्था एएफपीका अनुसार राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा पर्ने झालोकाथी सहर नजिकै सुगन्धा नदीमा स्थानीय समयअनुसार बिहान तीन बजे उक्त आगलागी भएको हो।

तीन तले फेरिमा झन्डै पाँच सय मानिस सवार थिए। तीमध्ये धेरैजसो ढाकाबाट आफ्नो गाउँ फर्किँदै थिए । फेरिको इन्जिनबाट आगलागी सुरू भएको बताइएको छ। फेरिमा आगो लागेपछि केही यात्रुले ज्यान जोगाउन नदीमा हाम फालेका थिए ।

बंगलादेशको प्रहरीले अहिलेसम्म ३६ जनाको शव निकालेको र मृतकको संख्या अझै बढ्न सक्ने बताएको छ। आगोले जलेका झन्डै १०० जनालाई उपचारका लागि अस्पताल लगिएको छ।  केही मानिसहरू अझै हराइरहेका छन् ।

सम्बन्धित समाचार