हुम्ला – हुम्लामा तीन सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम अगाडि बढीसकेको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा वन तथा वातावरण मन्त्रालयले इआइएको काम अगाडि बढाएको हो । हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना रुरु जलविद्युत् परियोजनाले निर्माण गर्नेछ । आयोजना हुम्लाको खार्पूनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकामा रहेको छ ।
आयोजनाको कुल लागत ७२ अर्ब ९० करोड ८० लाख रुपैयाँ बराबर अनुमान छ । विद्युत् उत्पादनअन्तर्गत ५० मेगावाटभन्दा बढी क्षमताको जलविद्युत् आयोजनाका लागि वातावरण संरक्षण ऐन, २०७६ अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने प्रावधान रही आएको छ । नदी प्रवाहमा आधारित आयोजना कर्णाली नदी बेसिनको एक प्रमुख आयोजना हो ।
बाह्रैमास हिम नदीका रूपमा परिचित हुम्ला कर्णालीमा निर्माण हुने भएकाले पनि यस आयोजनालाई महत्त्वपूर्ण रूपमा हेरिएको हो । आयोजनाबाट उत्पादित बिजुली २० किलोमिटर लामो डबल सर्किट चार सय केभी क्षमताको प्रसारण लाइनमार्फत मुगु कर्णाली हबमा जोडिनेछ । आयोजना निर्माण हुँदा ५६ घरधुरी प्रभावित हुनेछन् ।