काठमाडौं । उपाधि रक्षा गर्ने अभियानमा रहेको नेपाली महिला भलिबल टोलीले एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा आज श्रीलंकाविरुद्ध ३–२ को रोमाञ्चक विजय हासिल गरेको छ ।
पहिलो सेटमा २५–१९ र दोस्रो सेटमा २५–२१ ले पराजित भएको नेपालले बाँकी खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । तेस्रो सेट २५–१५ ले जितेको नेपालले चौथो सेट २५–१९ ले जितेको थियो । अन्तिम तथा निर्णायक सेटमा भने नेपाल १५–१३ ले विजयी भयो । एक समय १२–९ को अग्रता लिएको नेपाल १३–१३ स्थितिमा पुगेको थियो । तर, अन्तिममा १५–१३ ले जितेको हो ।
प्रतियोगितामा साबिक विजेता नेपालका लागि श्रीलंका सबैभन्दा कठिन प्रतिद्वन्द्वी मानिएको थियो । तर, पहिलो खेलमै श्रीलंकालाई पराजित गरेपछि नेपालको आगामी यात्रा पनि सहज बनेको छ ।
पछिल्लो समय नेपालले काठमाडौंमै सम्पन्न १३औँ सागमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो । तर, त्यसअघिका भेटमा श्रीलंकाविरुद्ध नेपालको नतिजा सन्तोषजनक थिएन । नेपालमै सम्पन्न सन् १९९९ को आठौँ सागमा नेपाल पराजित भएको थियो ।
त्यस्तै, कोलोम्बोमा सम्पन्न २००६ को दशौँ साग र भारतको गुवाहिटी र सिलोङमा सम्पन्न २०१६ को १२औँ सागमा पनि नेपाल श्रीलंकासँग पराजित भएको थियो । त्यसबीचमा नेपालले श्रीलंकाविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसमा एक खेल नेपालले जित्यो भने अर्को खेलमा पराजित भएको थियो ।
नेपाली महिला टोलीले अब दोस्रो खेलमा माल्दिभ्स, तेस्रो खेलमा आयोजक बंगलादेश, चौथो खेलमा उज्वेकिस्तान र लिग चरणको अन्तिम खेलमा कीर्गिस्तानविरुद्ध खेल्नेछ । राउन्ड रोबिन प्रणालीमा खेलाइने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।