बेनीघाट-लार्के भञ्ज्याङ सडक सञ्चालनमा

10.7k Shares

सुलीकोट, असोज २८ गते । उत्तरी गोरखाको बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक अबिरल वर्षाका कारण झण्डै ३ महिनापछि सञ्चालनमा आएको छ । धार्चे गाउँपालिकाले पालिकाको जेसिबी प्रयोग गरी सडक पूर्ण रुपमा मर्मत सम्भार गरेपछि दसैँपछि मंगलबारबाट यात्रुबाहक बस र मालबाहक सवारीसाधन सञ्चालनमा आएको हो । 

विगत ३ महिनादेखि धार्चे गाउँपालिकाको माछाखोलादेखि गोरखा सदरमुकाम र काठमाडौं छुट्ने सवारीसाधनहरु पूर्ण रुपमा ठप्प अवस्थामा रहेको थियो, गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले भन्नुभयो, ‘जटिल भौगोलिक अवस्था हुनुका साथै उत्तरी गोरखा पुग्ने सडकहरु धेरै ठाउँमा सडक नै भासिएर खोलामा मिसिएकाले पनि समयमै सडक मर्मत गर्न नसकिएकाले पनि मर्मत गर्न धेरै समय लागेको छ ।’

बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक हिमाल पारीको गाउँपालिका र आन्तिरिक तथा बाह्रय पर्यटकहरुले प्रयोग गर्ने मुख्य सडक भएकाले पहिरो खसिरहने भएका कारण बेनीघाट–लार्केभञ्ज्याङ सडक कष्टपुर्ण र जोखिमयुक्त रहेको धार्चे गाउँपालिकाले जनाएको छ । 

अहिले उक्त सडक मर्मत सम्भारपछि गोरखा दरौदी यातायात कम्पनी प्रालिका दिवाकालिन तथा रात्रिकालिन सवारीसाधनहरु सञ्चालन गर्न थालिएको गोरखा दरौदी यातायात कम्पनी प्रालिका अध्यक्ष दिपक बोहाराले बताउनुभयो । 

सवारीसाधन सञ्चालन नहुँदा उत्तरी गोरखामा पुग्ने नागरिकहरुलाई निकै सास्ती ब्यार्होनु परेको पालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धिराम बस्नेतको भनाइ छ । उक्त सडक मर्मतपछि उत्तरी गोरखाबासी सहजै रुपमा खाद्यान्न लगाएतका आवश्यक सामग्रीहरु लैजान सहज भएको धार्चे गाउँपालिकाले जनाएको छ ।  

सम्बन्धित समाचार