चेल्सी र लिभरपुल लिग कपको सेमिफाइनलमा

18.9k Shares

काठमाडौं । इङ्लिस प्रिमियर लिगको उपाधि होडमा रहेका लिभरपुल र चेल्सीले बुधबार राति आ–आफ्नो खेल जित्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएका छन् । 

चेल्सीले ब्रेन्टफोर्डलाई २–० ले हराउँदा लिभरपुलले लेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै अन्तिम चारमा स्थान बनाएका हुन् । अब चेल्सीले फाइनल प्रवेशका लागि टोटनहमसँग प्रतिस्पर्धा गर्नेछ भने लिभरपुलले आर्सनलविरुद्ध खेल्नेछ । टोटनहमले गएराति नै वेष्ट ह्याम युनाइटेडलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो भने आर्सनलले मंगलबार राति लिग वानको क्लब सन्डरल्यान्डलाई ५–१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । 

अन्तिम दश मिनेटमा गरेको दुई गोल चेल्सीको जितमा निर्णायक भयो । ८०औं मिनेटमा पोन्टुस जनसनले गरेको आत्मघाती गोलबाट चेल्सीले अग्रता लिएको थियो । त्यसको पाँच मिनेटपछि जर्जिन्होले अर्को गोल थपेपछि चेल्सीको जित पक्का भएको हो ।

थोमस टुचेलको प्रशिक्षण सम्हालेपछिको ११ महिनामा चेल्सी प्रमुख प्रतियोगिताको सेमिफाइनलमा पुगेको यो तेस्रो पटक हो । 

प्रिमियर लिगको अर्को लिभरपुलले सेमिफाइनलमा स्थान बनाउनका लागि पेनाल्टी सुटआउटसम्म कुर्नु पर्यो । लिरभपुलको घरेलु मैदान एनफिल्डमा लेस्टरले नवौं मिनेटमा जेमी भार्डेको गोलबाट अग्रता लिएको थियो । १३औं मिनेटमा भार्डेले लेस्टरको अग्रता दोब्बर बनाए । तर, लेस्टरले अग्रता जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिनु पर्यो । 

१९औं मिनेटमा एलेक्स अक्सलेड–चेम्बरलिनले गरेको गोलबाट लिभरपुलले पुनरागन गरेको हो । ३३औं मिनेटमा लेस्टर जेम्स म्याडिसनले अर्को गोल थपेका थिए । डिएगो जोटाले ६८औं मिनेटमा लिभरपुलको अन्तर कम गरे । ताकुमी मिनामिनोले इन्जुरी समयमा बराबरी गोल फर्काएका थिए । त्यसपछि थपिएको ३० मिनेट समयमा पनि ३–३ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । 

पेनाल्टी सुटआउटमा लिभरपुलका मिनामिनो गोल गर्न चुके । लेस्टरका लुक थोमस र रायल बर्टनान्ड गोल गर्न चुकेका थिए । 

गएराति नै टोटनहमले घरेलु मैदानमा स्टेभन बर्जविनको गोलबाट २९औं मिनेटमा अग्रता लिएको थियो । ३२औं मिनेटमा वेष्ट ह्यामका जारोर्ड बोवेनले बराबरी गोल फर्काए । ३४औं मिनेटमा लुकास मोउराले गरेको गोलबाट टोनहमले अग्रता लियो । मोउराको त्यही गोल टोटनहमको जितमा निर्णायक बन्यो । 

सम्बन्धित समाचार