काठमाडौं । पार्टी बनेको
चार महिना पूरा नहुँदै लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) भित्र विवाद सुरु भएको
छ । अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीचको विवाद
सतहमा देखिएको हो ।
पार्टी बनेको चार महिना बितिसक्दा पनि लोसपाले
केन्द्रीय कार्य समिति बनाउन सकेको छैन । तीन तहको
निर्वाचन सुरु हुन केही महिना बाँकी रहँदा केन्द्रीय कार्यकारिणी समितिको विस्तार
र विधानसम्मत राजनीतिक समिति बनाउने विषयमा पनि पार्टीभित्र विवाद देखिएको छ ।
प्रदेश २ बाहेकका प्रदेश र ६५ जिल्लामा संगठन विस्तार गर्ने विषयमा पार्टीभित्र
विवाद छ ।
लोसपाको विधानले ४०१ सदस्यीय केन्द्रीय
कार्यसमिति बनाउने आधार दिएको छ । यस्तै १५१ सदस्यीय राजनीतिक समिति र
९९ सदस्यीय प्रदेश समिति विधानसम्मत गठन गर्नुपर्ने हुन्छ ।
यस्तै जिल्लामा ५१ सदस्यीय कार्यसमिति हुन्छ । जसमा १५ जना
कार्यसम्पादन समिति रहन्छन् । तर, पार्टीले ३०
सदस्यीय केन्द्रीय कार्यकारिणी समितिबाहेक अन्य समितिहरु गठन गर्न सकेको छैन ।
समिति पनि निर्वाचन आयोगबाट मान्यता पाउन तयार पारिएको हो ।
त्यो कार्यकारिणी समितिको बैठक पनि चार महिनामा दोस्रोपटक बस्न सकेको छैन ।
कार्यकारिणी समितिको संख्या बढाउने भनिए पनि कति पु¥याउने भन्ने
टुंगो लगाउन सकिएको छैन ।
जसपा स्रोतका अनुसार पार्टी अध्यक्ष महन्थ
ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच विवाद हुँदा समितिहरुले पूर्णता पाउन
नसकेको हो । आफू निकटहरुलाई च्याप्ने र पार्टीमा आफ्नो
गुट बलियो बनाउने लहडमा कार्यकारिणी समितिका ३० जना सदस्यहरुले पनि जिम्मेवारी
पाउन सकेका छैनन् । अध्यक्षपछिको पद बाँडफाँट हुन सकेको छैन ।
नेतृत्वको विषयलाई टुंगोमा पु¥याउन
भन्दै मंसिर महिनाभित्र तीनपटक चार नेताबीच संवाद भएको छ ।
जसमा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह
भण्डारी र अनिल झा संवादमा बसे । संवादको मुख्य विषय तदर्थ समिति
घोषणा गर्नु थियो । मुख्य चाहिँ जिल्ला कार्यसमिति र प्रदेश तहको
नेतृत्व घोषणा गर्नु थियो ।
संवादपछि पार्टीले १२ जिल्लामा जिल्ला अध्यक्ष
तथा प्रदेश २ मा प्रदेश अध्यक्ष तोक्यो । जिल्ला र
प्रदेश तहको अध्यक्ष तोक्न नपाउँदै विवाद सुरु भएको हो । राजेन्द्र
महतो पक्षले अध्यक्ष महन्थ ठाकुरले एकलौटी ढंगले आफू निकटहरुलाई अवसर दिएको भन्दै
विरोध सुरु गरेको हो । जसमा नेता अनिल झाले पनि साथ दिएका छन् ।
भदौमा तीन चरणमा संवाद गर्दा सम्भावित नामबारे
छलफल भएको हो, तर नाम तोकिँदा छलफल विपरीत आयो, महतो
निकट एक नेता भन्छन्–राजेन्द्रजी र अनिलजीले गरेको सहमतिअनुसार नाम आएन, महन्थ
ठाकुरको कोटको खल्तीबाट नाम झिकेर अध्यक्ष बनाउने काम भयो ।
अर्का नेता शरतसिंह भण्डारीले भने जिल्ला तहमा
नेतृत्व सुझावका आधारमा तोकिए पनि प्रदेशमा भने अध्यक्ष ठाकुरले एकलौटी गरेको
प्रतिकृया दिने गरेका छन् । अहिले पार्टीमा महन्थ ठाकुरनिकट भएर
भण्डारी बसेको स्रोतको दाबी छ । राजेन्द्र महतो र अनिल झाले छुट्टै
मोर्चाबन्दी कसेका छन् । उनीहरु महन्थ ठाकुरबाट पार्टी नचल्ने
भन्दै नेतृत्व परिवर्तनको पक्षमा उभिएका छन् । राजेन्द्र
महतो पार्टी अध्यक्ष बन्ने आकांक्षामा छन् ।
तर, ठाकुर पक्षीय नेताहरु भने सबै तहका
अध्यक्षहरु सहमतिमै तोकिएको दाबी गर्छन् । बरु राजपामा
हुँदा जस्तो भागबण्डा नपाएर राजेन्द्र महतो र अनिल झा समूहले बखेडा झिकेकोे आरोप
ठाकुर पक्षीय नेताहरुको छ ।
खोजेजति भाग नपाएपछि बोलेका हुन्, पार्टीमा
कुनै विवाद छैन, ठाकुर पक्षीय एक नेता भन्छन्, हिजो
राजपामा ६ अध्यक्षमण्डल हुँदा जस्तै भाग खोजेर बसेका छन्, अध्यक्षले केही
भाग दिनुभएको छ, सबै उनीहरुलाई दिने भन्ने हुँदैन ।
झापा, मोरङ, महोत्तरी,
सर्लाही,
धनुषा,
बारा,
पर्सा
र दाङ जिल्लामा अध्यक्ष ठाकुर निकट जिल्ला अध्यक्ष बनेका छन् ।
यता, सप्तरीमा भने महतो निकट सुनिल झा जिल्ला अध्यक्ष बनेका छन् ।
यस्तै सिराहमा भण्डारी निकट रामदयाल यादव र कपिलवस्तुमा भण्डारी निकट कैलाश
अग्रहरी तदर्थ समिति अन्तर्गत जिल्ला अध्यक्ष बनेका छन् ।
रौतहटमा झा निकट लिलाप्रसाद साह अध्यक्ष बनेका छन् । प्रदेश २ को
अध्यक्ष पनि ठाकुर निकट जितेन्द्रप्रसाद सोनल बनेपछि विवाद गहिरो बनेको हो ।
८ जिल्लामा महन्थ निकट जिल्ला अध्यक्ष छन् ।
शरतजी ले २ जिल्लामा अध्यक्ष पाउनुभएको छ । अनिलजीले र
हामीले मात्र एक एक जिल्ला पाएका छौं, महतो निकट एक नेता भन्छन्, प्रदेश
२ पनि उहाँहरुले नै राख्नुभयो । यसरी भर्खर बनेको पार्टी कसरी सवल
हुन्छ र !
तर, महतो पक्ष भने यसलाई मान्न तयार छैन ।
१२ जिल्ला मध्ये अधिंकाश जिल्लामा पूर्व सद्भावना पार्टी निकट नेताहरु नेतृत्वमा
पुगेको दाबी उनीहरुको छ । सबै आरोपहरु सत्य होइन, अधिंकाश
जिल्लाहरुमा हिजोको सद्भावना पार्टी निकट नेताहरु अध्यक्ष हुनुहुन्छ, ठाकुर
निकट एक नेता भन्छन् ।
पार्टीमा भागवण्डा राजनीतिले विद्रोह
निम्त्याएको छ । नेतृत्वले तल्ला तहका नेताहरुलाई जिम्मेवारी
दिन नसक्दा गुटबन्दी बढेको छ । पदाधिकारीसहितको जिम्मेवारी तोक्ने
पक्षबाट अध्यक्ष ठाकुर पछि हटेका छन् । पार्टीमा विवाद बढ्दै गएपछि ठाकुर
पर्ख र हेरको अवस्थामा रहेको जसपा स्रोत बताउँछ ।
यता,पार्टीमा विवाद बढ्दै जाँदा नेताहरु
भने संघर्षमा उत्रिएका छन् । समानुपातिक तबरबाट जिल्ला नेतृत्व
नबन्ने र प्रदेश २ मा अध्यक्ष परिवर्तन नभए केन्द्रीय कार्यालय घेर्नेसम्मको तयारी
अहिले पार्टीभित्र छ । यस्तै प्रदेश २ का सांसदहरु रमेश
पटेल, बाबुलाल साह र उपेन्द्र महतोले पनि भएका निर्णयहरु नसच्याइए गम्भीर
कदम चालिने चेतावनी नेतृत्वलाई दिइसकेका छन् । ठाकुर समूह भने पेलेरै अघि बढ्ने रणनीतिमा
देखिन्छ । भएका निर्णयहरु फिर्ता गर्ने पक्षमा अध्यक्ष
महन्थ ठाकुर छैनन् ।