किन आए आरएसएसका शक्तिशाली नेता ?

18.7k Shares

काठमाडौं । भारतको हिन्दुवादी संगठन राष्ट्रिय स्वयंसेवक संघ आरएसएसका एकजना नेता नेपालमा सक्रिय छन् । उनले यसपटक महत्वपूर्ण भेटघाटहरु गरेका छन् । आरएसएसका प्रचार प्रमुख रहेका सुनिल अम्बेकरले पहिलोपटक मिडियाकर्मीहरुसँग अन्र्तक्रिया गरेका छन् । आरएसएसको कुनै उच्च नेताले नेपालको मिडियासँग अन्र्तक्रिया गरेको पहिलो घटना हो । उनले नाम चलेका पत्रिका, टेलिभिजन र अनलाइन मिडियाका सम्पादकहरुसँग छलफल गरेका छन् 

हिन्दुत्व र हिन्दु धर्म मान्नेहरुको पक्षमा आफूहरु रहेको बताउने अम्बेकरले सम्पादकहरुको कडा प्रश्नमा भने कूटनीतिक जवाफहरु दिए । आफूहरुले नेपालमा हिन्दुराष्ट्र हुनुपर्छ नभनेको बताए । काठमाडौंमा आफूहरुले भारतमा समेत हिन्दुराष्ट्र हुनुपर्छ नभनेको बताए 

हामीले भारतमा पनि हिन्दुराष्ट्र हुनुपर्छ भनेका छैनौं, भारत हिन्दुराष्ट्र हो भन्ने हाम्रो धारणा छ,’ आरएसएसका प्रचार प्रमुख अम्बेकरले सोमबार पशुपतिधाममा पत्रकारको प्रश्नमा भने, ‘नेपालमा हिन्दुराष्ट्र हुनुपर्छ भनेका छैनौं । यहाँ के हुनुपर्छ भन्ने नेपालका जनताले तय गर्ने विषय हो ।’

नेपाल विगतमा हिन्दुराष्ट्र रहेको र अहिले संविधानमा उल्लेख नभएको उल्लेख गरे । आरएसएस नेपालमा हिन्दुराष्ट्र बनाउन लागेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘हामी त्यसो भनिरहेका छैनौं । नेपाल र नेपाली जनतालाई कमजोर आँकलन नगर्नुहोस् ।’

आरएसएसले प्रस्तुत गर्ने गरेको अखण्ड भारतको नक्शाबारे पत्रकारको प्रश्नमा उनले त्यसलाई भारत देशको नभई सांस्कृतिक नक्शाका रुपमा बुझ्न भने । अखण्ड भारत देश विशेष नभई एउटै संस्कृतिको नक्शा भएको तर्क गरे । नेपालको अयोध्यापुरी नै प्राचीन अयोध्यापुरी हो भनी राम मन्दिर बनाएकोबारे सोधिएको प्रश्नमा उनले भने, ‘राम जहीं तहीं हुनुहुन्छ ।’ ओलीले निर्माण गर्न लगाएको राम मन्दिरबारे उनले धर्मका ज्ञानीले बोलेमा आफूहरुले विचार गर्ने बताए । उनले भने, ‘धर्मका ज्ञानीले बोलेमा हामी विचार गर्छौं । मैंले बाल्यकालदेखि थाहा पाएको अयोध्या नै हो ।’ हिन्दु र हिन्दुत्वमा खासै फरक नभएको बताए । तर, शब्दजाल गर्नेहरुले फरक शब्द राखेर भ्रम फैलाइरहेको बताए 

आरएसएस विश्वको सबैभन्दा ठूलो धार्मिक संगठन मानिन्छ । यसले हिन्दुत्वको मुद्दा लिएर भारतभित्र सक्रियता देखाउँदै आएको छ । ९७ वर्षयता भारतमा सक्रिय आरएसएसकै कारण भारतीय जनता पार्टीको जन्म भयो । अहिले भारतमा भाजपाको सत्ता छ । नरेन्द्र मोदी स्वयं आरएसएसका कार्यकर्ता थिए । यो संस्थाका कार्यकर्ता साकाहारी हुन्छन् । कडा अनुशासनको पालना गर्नुपर्ने आरएसएससँग जोडिएको हिन्दु स्वयंसेवक संघ नेपालमा सक्रिय छ । यो संगठनको पनि देशभर कार्यकर्ता छन् । हजारौं कार्यकर्ता बनाइसकेको हिन्दु स्वयंसेवक संघबाट बढेकाहरु राजनीतिमा पनि सक्रिय छन् 

सम्बन्धित समाचार