बागलुङ, असोज २४ गते । बागलुङबाट रोजगारीको सिलसिलामा संसारका विभिन्न देशमा गएर बसेका गैर आवासीय नागरिकको संस्था अन्तराष्ट्रिय बागलुङ समाजले बागलुङ जिल्ला भित्रका पालिका स्तरीय पुरुष भलिबल प्रतियोगता गर्ने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गरेर समाजका सचिव तथा खेल उपसमितिका संयोजक राजु थापाले उक्त जानकारी गराउनुभएको हो । जिल्ला भविल संघको व्यवस्थापन, बागलुङ नगरपालिका र जिल्ला खेलकुद विकास समितिको समन्वयमा असोज २९ गतेदेखि कात्तिक १ गतेसम्म प्रतियोगिता संचालन हुने छ ।
पालिका स्तरीय खेलका लागि यो सर्वाधिक पुरस्कार राशीको खेल हुनेछ । बागलुङका १० पालिकाबीच लिग कम नकआउट प्रतियोगिता गर्न लागिएको हो । खेलमा प्रथम हुनेले २ लाख नगद पुरस्कारसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् भने द्वितियलाई १ लाख र तृतियलाई ५० हजार रुपियाँ नगद पुरस्कार दिइने थापाले जानकारी दिनुभयो ।
खेलमा सान्त्वना हुनेले २५ हजार नगद पुरस्कार पाउने छन् । खेलमा सहभागिता जनाउने सबै टिमलाई २५ हजारको दरले भत्ता समेत उपलब्ध गराउने जनाइएको छ । समाजले हरेक २ वर्षमा प्रतियोगिता गर्ने समेत योजना बनाएको छ । हरेक २ वर्षमा समाजको अधिवेशन हुने र त्यो समयमा सबै सदस्य र पदाधिकारी आएको मौका पर्ने भएकोले सोही समयमा प्रतियोगिता गर्ने समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
बागलुङबाट संसारका विभिन्न देशमा पुगेका गैरआवासीयहरुको समाजले सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा लगानी गर्दै आएका छन् । खेलमा उत्कृष्ट खेलाडीलाई १० हजार, विधागत उत्कृष्टलाई ५ हजार रुपियाँका दरले पुरस्कार दिइने छ ।
पत्रकार सम्मेलनमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले खेलले जिल्लाको पहिचान बढाउने, पर्यटन प्रवद्र्वन गर्ने लगायतको फाइदा हुने बताउनुभयो । हाल निर्माण सम्पन्न भएर संचालनमा आइरहेको बागलुङ बसपार्क रहेको दावगरामा खेल आयोजना गरिएकोले उक्त स्थानको समेत प्रबद्र्वन हुने जनाइएको छ ।
अन्तर्राष्ट्रिय बागलुङ समाज, खेलकुद समितिका संयोजक राजु थापाको अध्यक्षता, जिल्ला खेलकुद विकास समितिका सचिव किशोर छन्त्यालको संचालनमा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्मा र नेपाल पत्रकार महासंघका अध्यक्ष राम थापा ‘अविरल’ले पनि आफ्नो धारणा राख्नुभएको थियो ।