दुई वटा पालिकामा कृषि तथा पशुपन्छी सेवा केन्द्र

7.7k Shares

प्युठान, असोज ५ गते । जिल्लाका दुई वटा स्थानीय तहमा कृषि तथा पशुपन्छी सेवा केन्द्र स्थापना गरिएको छ । पालिका भित्रका कृषकलाई सहज रुपमा सेवा प्रवाह गर्ने उद्देश्यले प्युठान नगरपालिका र स्वर्गद्वारी नगरपालिकामा नयाँ भवनसहित सेवा केन्द्र स्थापना गरिएको हो ।

यसअघि पालिकाले कृषि तथा पशु विकास शाखाबाट सेवा प्रवाह गर्दै आएका थिए । ग्रामीण उद्यम तथा आर्थिक विकास करिडोरको लगानीमा दुवै पालिकामा भवन निर्माण गरिएको हो । यस भवनबाट किसानलाई प्रयोगशालासहितको सेवा दिइने प्युठान नगरपालिका नगर प्रमुख विष्णु बहादुर योगीले बताउनुभयो । “किसानले अव ल्याव सेवा समेत सहज रुपमा पाउनेछन्,” उहाँले भन्नुभयो, “यसले किसानको समस्या समाधान गर्न ठुलो मद्दत मिल्नेछ ।”

कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवनमा अपाङ्गमैत्री संरचना, कृषि तथा पशुपन्छी सेवामा आवश्यक प्रयोगशाला, तालिम हलसहित आधुनिक सेवा प्रवाहका लागि आवश्यक संरचनाहरु निर्माण गरिएको छ ।

ग्रामीण उद्यम तथा आर्थिक बिकास करिडोरले दुवै पालिकालाई भवन हस्तान्तरण गरेको छ । स्थानीय तह बनेपछि किसानले सहज रुपमा कृषि र पशुपालनसम्बन्धी सेवा पाउन नसकेको गुनासो थियो । सेवा केन्द्र स्थापनाले कृषकका समस्या समाधान हुने आशा लागेको प्युठान नगरपालिका–३ कुवापानीका रविन्द्र पाण्डेले बताउनुभयो । 

सम्बन्धित समाचार