स्थानीय शासन कार्यसम्पादनमा बागलुङ नगरपालिका अब्बल

6.7k Shares

बागलुङ – बागलुङ नगरपालिका स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीमा अब्बल बनेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कार्यसम्पादन महाशाखा प्रमुख रेशमलाल कँडेलले बागलुङ उत्कृष्ट बनेको जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०/८१ को मूल्याङ्कनमा नगरपालिका उत्कृष्ठ बनेको हो ।

यसअघि पालिकाको समग्र पक्षको मूल्याङ्कन प्रणाली (लिजा), पालिकाको स्थानीय तहको वित्तीय सुशासन संरचना गर्ने प्रणाली (एफआरए) र स्थानीय आर्थिक विकासको प्रवद्र्धनमा सहयोग गर्ने प्रणाली (एलइडी) को मूल्याङ्कनमा नगरपालिका अब्बल बनेको हो ।

औपचारिक घोषणा भने यही भदौ ६ गते हुनेछ । तर नगरपालिका प्रदेशस्तरमै पुरस्कृत बन्ने भएको कँडेलले बताउनुभयो । तीनवटा प्रणालीलाई मन्त्रालयले चालू वर्षदेखि भने स्थानीय शासन कार्यान्वयन मूल्याङ्कन प्रणाली (एलजी–पास) नामाकरण गरेको छ ।

प्रणालीले तीनवटै क्षेत्रलाई एकरुपतामा हेर्ने गर्छ । जस अनुसार ५ शीर्षकमा दुई दर्जनबढी उपशीर्षकमा अध्ययन गरेर कार्यसम्पादन मूल्याङ्कन गर्न थालेको हो । सुशासन तथा संस्थागत विकास, सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास र वन वातावरण तथा विपत व्यवस्थापनको क्षेत्रमा पालिकाले काम गर्ने भएकोले ती विषयगत क्षेत्रका उपशीर्षकमा मूल्याङ्कन गर्न शुरु भएको उहाँले बताउनुभयो ।

तोकेको समयमा तोकेका काम पूरा गरेर प्रविष्टी नगरेसम्म पालिकाले नम्बर पाउँदैनन् । त्यसका लागि सबै शाखा जिम्मेवार बन्ने, आइटी शाखाले तोकेको दिनमा तोकेका सामग्री अपलोड गर्नुपर्ने काम गर्नुपर्ने पनि कँडेलले जानकारी दिनुभयो ।

मन्त्रालयले यो वर्षको ‘स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीसम्बन्धी अभिमुखीकरण’ अभियानसमेत बागलुङ नगरपालिकाबाट थालेको छ । देशभरमै पहिलो पटक बागलुङबाट थालिएको उहाँले बताउनुभयो । यो अवसरमा नगरप्रमुख वसन्तकुमार श्रेष्ठले देखिने गरी पूर्वाधार विकास गर्ने, नागरिकले अनुभव गर्ने गरी सुशासन दिने र सरसफाइमा पनि अब्बल बनाउने लक्ष्य राखेको बताउनुभयो ।

त्यसका लागि कर्मचारी र कार्यालय ‘स्मार्ट ’बनाउनेसमेत उहाँले बताउनुभयो उपप्रमुख राजु खड्काले न्याय सम्पादन, पर्यटन प्रवद्र्धन लगायतको क्षेत्रलाई पनि चुस्त र नागरिकमैत्री बनाउने काम भइरहेको जानकारी दिनुभयो । सकेसम्म सामाजिक विकासको क्षेत्रमा सक्दो काम गरेर नागरिकले महसुस गर्नेगरी योजना तर्जुमासमेत भएको उहाँले बताउनुभयो । 

सम्बन्धित समाचार