दरौदी नदीमा बेलिब्रिज निर्माण

8.5k Shares

सुलीकोट, साउन २ गते । गोरखाको सिरानचोक गाउँपालिका – ६ नयाँसाघु बजार र गोरखा नगरपालिका – ३ नारेश्वरको दरौदी खोलामाथि बेलिब्रिज निर्माण सम्पन्न भएको छ ।

दुई वर्षमा सम्पन्न हुने सम्झौता उल्लेख भएता पनि निर्माण कम्पनीले दुई पटक म्याद थपेपछि मात्रा बेलिब्रिज तयार भएर सम्पन्न भएको पूर्वाधार कार्यालय गोरखाका साईड ईन्जिनियर मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार बेलिब्रिज पुल निर्माणका लागि एलाईट कन्ट्रक्सन कम्पनी प्रालिसँग २०७८ साल असार १३ गते सम्झौता भई २०८० साल असार १२ गते सम्पन्न हुनुपर्ने थियो । तर निर्माण कार्यमा ढिलाई हुँदा पूर्वाधार कार्यालय गोरखाको पटक पटक ताकेतपछि दुई पटक म्याद थप गरिएको थियो ।

बेलिब्रिज पुलको लम्बाई ७८ मिटर र चौडाई ८.४ मिटर भएको पूर्वाधार कार्यालय गोरखाले जनाएको छ । दरौदी नदीमा पुल निर्माण भएपछि बाह्रै महिना सडक मार्ग भएर गोरखा सदरमुकामबाट कम ढुबानीमा सामान ओसार पोसार गर्न पाइने सिरानचोक गाउँपालिकाका स्थानीय व्यापारी धन बहादुर तमाङले बताउनुभयो ।

बेलिब्रिजसँगै पुलको वारीपारी १००/१०० मिटर एप्रोच रोड समेत निर्माण भएको छ । पूर्वाधार कार्यालय गोरखा र निर्माण कम्पनीबिच कुल १५ करोड ६० लाख ८० हजार भ्याटसहितको लागतमा सम्पन्न भएको हो ।

बेलिब्रिज निर्माणसँगै गोरखा सदरमुकामबाट सिरानचोक गाउँपालिका र अजिरककोट गाउँपालिका पुग्ने सबै भन्दा छोटो सडक बाटो हुने भएको गोरखा नगरपालिका– ३ का वडा अध्यक्ष चुल बहादुर कुबँरले बताउनुभयो ।

सम्बन्धित समाचार