रेसुङगा विमानस्थलबाट उडान अवरुद्ध

6.5k Shares

तम्घास(गुल्मी), असार ३२ गते । गुल्मीको रेसुङगा विमानस्थलबाट विगत दुई हप्तादेखि उडान अवरुद्ध हुँदै आएको छ  । विमानस्थलका स्टेशन प्रमुख सुमन थापाका अनुसार पछिल्लो समय असार १४ उडान भएको र त्यस पश्चात मौसम खराबीका कारण उडान हुन नसकेको बताउनुभयो ।

बर्सायाममा मौसम खराबीका कारण उडान प्रभावित भएको र गत मङगलबार २४ गते काठमाडौँबाट उडान भए पनि रेसुङगाको मौसममा समस्या देखा परेकाले करिव २० मिनेट आकासमै होल्ड भइ अवतण हुन नसकेका कारण फिर्ता भएको उहाको भनाइ छ ।  असार र साउन महिना पहाडका विमानस्थलमा मौसमकै समस्या देखा पर्दै आएको थापाले बताउनुभयो ।

विमानस्थलबाट हप्ताको चारदिन आइतबार, मङ्गलबार, बिहीबार र शनिबार उडान हुने कार्यतालिका रहेको विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताउनुभयो ।

काठमाडौँबाट बिहान ६ बजेर १० मिनेट र रेसुङगाबाट काठमाडौँका लागि बिहान ७ बजेर १० मिनेटमा उडान हुने कार्यतालिका रहेको उहाँले बताउनुभयो ।

हवाई यात्रामा गुल्मी जोडिएसङगै फ्रान्स र स्पेनबाट पनि पर्यटकहरु घुम्नको लागि गुल्मी आएको रेसुङगा नगरपालिका गुल्मीले जनाएको छ ।

हाल गुल्मीबाट काठमाडौँका लागि सात हजार तीन सय र काठमाडौँबाट गुल्मीका लागि सात हजार पाँच सय रुपियाँ भाडा कायम गरेको स्टेशन प्रमुख थापाले बताउनुभयो । जिल्ला सदरमुकाम तम्घासबाट करिव पाँच मिलोमिटर कच्चीबाटो पछि विमानस्थल पुग्न सकिन्छ । विमानस्थलबाट २०८० वैशाख २९ गतेबाट व्यवसायिक उडान सुरु गरिएको थियो ।

सम्बन्धित समाचार