काठमाण्डौ – पर्वतीय पर्यटक व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले नेपाल–चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने तीर्थयात्री समस्यामा परेको बताएको छ । टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले विज्ञप्ति निकालेर गएको मङ्गलवार बिहान लेहेन्दे खोलामा आएको बाढीले पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रीहरु समस्यामा परेको बताउनुभएको छ ।
टानले मितेरी पुल बगाउँदा रसुवागढीबाट सडक मार्ग हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको कैलाश मानसरोवर यात्रामा जाने नेपाली, विदेशी तीर्थयात्री तथा पर्यटक तिब्बत प्रवेश गर्नबाट वञ्चित हुनुपरेको भन्दै तत्काल चीन सरकारसँग कूटनीतिक पहल गरी तातोपानी, कोरोला, हिल्सालगायतका नाकाबाट मानसरोवर जाने वातावरण मिलाउन आग्रह गरेको छ ।
टानका अध्यक्ष सागर पाण्डेले कैलाश मानसरोवर यात्रा गर्ने सिजनको शुरुवातमै प्राकृतिक विपद्ले समस्या पारेकाले चीनको स्वशासित क्षेत्र तिब्बत प्रवेश गर्ने तीर्थयात्री तथा पर्यटकलाई सहज रूपमा भिसा उपलब्ध गराउन समेत सरकारसँग माग गर्नुभयो ।
उहाँले नेपालमा रहेको चिनियाँ राजदूतावाससँग कुटनीतिक पहल गरी भिसा प्रक्रियालाई छिटो, छरितो र यात्रुमैत्री बनाउन, काठमाण्डौमा कुरेर बसेका तीर्थयात्रीलाई छिटोभन्दा छिटो कैलाश यात्रा गर्न पाउने वातावरण बनाउनका लागि पहल गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध पनि गर्नुभएको छ ।