काठमाण्डौ – द्वन्द्वपीडितहरुले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायलाई प्रभावकारी बनाउन सुझाव दिएका छन् ।
सत्य निरूपण तथा मेलमिलाप आयोगले हिजो आयोजना गरेको कार्यक्रममा उनीहरुले न्यायसहितको मेलमिलाप प्रक्रिया अगाडि बढाउन सुझाव दिएका हुन् ।
कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिका आफन्त, द्वन्द्वबाट प्रत्यक्ष प्रभावित नागरिक तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले आफ्नो पीडा, अनुभव र अपेक्षाहरू प्रस्तुत गरेका थिए ।
सहभागीहरूले शान्ति प्रक्रिया, मेलमिलापको प्रभावकारिता, राज्यको जिम्मेवारी, न्यायको पहुँच र पीडितको अवस्थाका विषयमा गहन छलफल गरेका थिए ।
कार्यक्रममा आयोगकी सचिव निर्मला अधिकारी भट्टराईले आयोगले पीडितलाई केन्द्रमा राखेर काम गरिरहेको बताउनु भयो ।
आयोगका सदस्य डा.टिका प्रसाद ढकालले पीडितबाट आएका सुझाव, आलोचना र रचनात्मक टिप्पणीहरू सङ्कलन गरिएको जानकारी दिँदै ती गुनासोलाई कार्यरूपमा उतार्न आयोग प्रतिबद्ध रहेको बताउनु भयो ।
उहाँले यसअघि बनेका कार्यविधिहरूको पुनरावलोकन भइरहेको र छानबिन प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागीहरूले पीडितलाई तत्काल राहत, मनोपरामर्श सेवा, परिवार पुनर्मिलन तथा दीर्घकालीन न्याय सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए । साथै, कार्यविधि बनाउँदा पीडितको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न आग्रह गरेका छन ।
पीडितको पहिचान, घटनाको वर्गीकरण, पीडित सहायता कोषको प्रभावकारी प्रयोग, अदालतको फैसला कार्यान्वयन र चाँडो न्याय दिनुपर्ने पीडितहरुको माग छ ।
अहिले आयोगले देशभरबाट छुटेका उजुरी सङ्कलनको काम गरिरहेको छ । आयोगका अनुसार अहिलेसम्म ६३ हजार सात सय १८ वटा उजुरी प्राप्त भएका छन् । आयोगका अध्यक्ष महेश थापाले पीडितका सुझाव र आवाजलाई कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनु भयो ।