10k
Shares
भेटमा महतोले एनआरएनका सही योद्धा भन्दै सम्बोधन गरे । उनले सबैले इगो त्यागेर एकताको वातावरण बनाउनका लागि अहिलेका साथीहरूले भूमिका निर्वाह गर्नु पर्ने बताए । सबै एनआरएनहरू एक ठाउँमा नआउँदा सम्म प्राप्त उपलब्धि पनि संस्थागत नहुने र आगामी दिन झनै अप्ठेरो हुनेतर्फ उनले सचेत गराएको प्रवक्ता गंगाधर गौतमले जानकारी दिए । ‘नेगेटिभिटी र इगो त्यागेर संस्थालाई व्यक्तिभन्दा माथि राख्न उहाँले आग्रह गर्नुभयो ।’ महतोको भनाई उद्धृत गर्दै प्रवक्ता गौतमले भने ।
विगतमा तीन अध्यक्ष हुँदा होटेल हिमालयको प्रसङ्ग कोट्याउँदै सर्वसम्मत भएकाले आफू त्यहाँ सहभागी भएको र चुनावमा अहिलेसम्म आफूले कसैलाई भोट नहालेको उनले बताएका थिए । उनले अहिले पनि केही साथीहरू बाहिर रहेको बताउँदै एकताको वातावरण बनाउनका लागि श्रेष्ठ नेतृत्वले त्यसमा बढी पहल गर्नु पर्नेमा जोड दिए । उनले आफू होटेल हायातमा नगएको बताउँदै अरू साथीहरूले अक्टोबरमा गर्न लागेको अधिवेशनमा पनि सहभागी नहुने प्रस्ट पारे । ‘अहिले साथीहरू आउनु भयो, तपाईंहरुलाई शुभकामना दिन्छु, जुन दिन सबै साथीहरू एक भएर आउनुहुन्छ त्यसपछि मात्रै बधाई दिन्छु,’ महतोले भने । एकताको वातावरण बनाउनका लागि एनआरएनसम्बन्धी अदालतमा विचाराधीन सबै मुद्दाहरू फिर्ता लिएर सहमतिको वातावरण बनाउन उनले सबैलाई अपिल पनि गरे । अदालतको परमादेशपछि एनआरएन सचिवालयबाट तीन जना अध्यक्षहरूको फोटो हटाइएको विषयमा बद्री केसीले गल्ती गरेको उनले टिप्पणी गरे ।
नवनिर्वाचित अध्यक्ष महेश श्रेष्ठले पहिलो बैठकले नै एकताको आह्वान गरेको स्मरण गर्दै सबैलाई साथ लिएर हिँड्ने गरी आफूले तयारी गरिरहेको बताए । उच्चस्तरीय समितिले गराएको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएकाले कानुनी झमेलामा नपर्ने बताउँदै एकताका लागि डा बद्री केसी र डा हेमराज शर्मासँग अनौपचारिक तरिकाले कुराकानी भइरहेको बताए । उनले यस विषयमा छिट्टै औपचारिक रूपमै अघि बढ्ने बताए । संस्थापक र पूर्व अध्यक्षहरूकै सुझाव अनुसार आफ्नो कार्यसमितिले एकताको वातावरण बनाउने प्रतिबद्धता पनि श्रेष्ठले जनाए । कार्यक्रमको सहजीकरण महासचिव बीआर लामाले गरेका थिए ।