दिपायल, वैशाख १७ गते । डोटीमा इभि हाइस दुर्घटनामा परी घाइते भएका सात जना यात्रुमध्य एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका डिलासैनी गाउँपालिका – ४ बैतडीका ४५ वर्षीय हर्क बहादुर नेगीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार घाइते नेगीलाई उपचारका लागि कैलालीस्थित माया मेट्रो अस्पताल लगिएको थियो । अस्पताल पुग्ने वित्तिकै चिकित्सकले नेगीलाई मृत घोषणा गरेको जनाइएको छ ।
अन्य ६ जना घाइतेहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख, प्रहरी उपरीक्षक विनोद शर्माले बताउनुभयो ।
मङ्गलबार राति ११ः३० बजेको समयमा भीमदत्त राजमार्गअन्तर्गत जिल्लाको जोरायल गाउँपालिका – २ मेलखोलामा हाइस दुर्घटना भएको थियो । धनगढीबाट बैतडी जाँदै गरेको सु.प.प्र. ०२००१ ज ०५६७ नम्बरको इलोक्ट्रनिक हाइस दुर्घटना हुँदा गाडी चालक पूर्चौडी गाउँपालिकाका २४ वर्षीय अशोक बमसहित ७ जना यात्रु घाइते हुनुभएको थियो ।
दुर्घटनामा डिलासैनी गाउँपालिका – ४ का २७ वर्षीय धिरेन्द्र नेगी, ४४ वर्षीय जगदिश जोशी, ५३ वर्षीय रामबहादुर नेगी, ६५ वर्षीया धना नेगी र २८ वर्षीय वीरबहादुर नेगी घाइते हुनुभएको छ ।