मुख्यमन्त्री राजेन्द्रकुमार राईले पाए विश्वासको मत

19.2k Shares

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मत विभाजन हुँदा मुख्यमन्त्री राईले मागेको विश्वासको मतको पक्षमा ५० मत परेको छ । प्रस्तावको विपक्षमा २९ मत परेको हो ।

राजेन्द्रकुमार राई माधवकुमार नेपाल नेतृत्वको दल नेकपा एकीकृत समाजवादीबाट प्रदेश १ को मुख्यमन्त्री बन्न सफल भएका थिए । उनी नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपासहितको सहयोगमा मुख्यमन्त्री नियुक्त भएका थिए । ती सबै दलका सांसदहरुले राईका पक्षमा मतदान गरेका हुन् ।

नेकपा एमालेले भने विश्वासको मतको विपक्षमा मतदान गरेको छ । सो दल अहिले त्यहाँ प्रमुख प्रतिपक्षको हैसियतमा छ ।

४१ सदस्यीय प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग मतदानका लागि ३९ सांसद थिए तर मत विभाजनमा एमालेका सबै सांसद उपस्थित भएनन् । पूर्वमुख्यमन्त्री शेरधन राई, पुर्व भौतिक पुर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङलगायत प्रतिपक्षतर्फ कूल ११ जना सांसद अनुपस्थित भएका थिए । 

प्रदेशसभाका कुल ९२ सांसद छन् । त्यसमध्ये कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एसका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जनाले राईलाई मत दिएका हुन् ।

सम्बन्धित समाचार