काठमाडौँ । मन्त्रिपरिषद् सोमबार बसेको बैठकले ६० किलो सुन तस्करीमा शंकास्पद भूमिका देखिएका सहसचिव झलकराम अधिकारीको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सरुवा भएको छ । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा सचिवको भूमिकामा कार्यरत अधिकारीलाई बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरेको हो ।
सुन तस्करीको छानबिन गर्न पूर्वन्यायाधीश डिलाराम आचार्यको संयोजकत्वमा बनेको जाँचबुझ आयोगले सहसचिव अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो । सुन तस्करीमा संलग्नता देखिएपछि उनलाई तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यागमन विभागको महानिर्देशकबाट गृह मन्त्रालय तानेका थिए । त्यहाँबाट उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हुँदै नेपाल ट्रस्टको कार्यालयमा प्रवक्ता थिए । सहसचिव अधिकारी अध्यागमन विभागको महानिर्देशक हुँदा सुन तस्करका नाइके दाबा छिरिङसँगको सम्बन्धका कारण विवादमा आएका थिए । तत्कालीन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले सहसचिव अधिकारीको सुन तस्कारीमा क्लु भेटाएको दाबी प्रतिनिधिसभा बैठकमा गरेका थिए । त्यसपछि अनुसन्धानका क्रममा अधिकारीसँग सुन तस्करीका नाइके छिरिङको कनेक्सन पनि भेटिएको थियो । तर त्यसपछि गृहमन्त्री बनेका लामिछानेले अधिकारीलाई आफूले दाबी गरेको विषयमा अनुसन्धान प्रतिवेदनले दोषी देखाए पनि कारबाही गरेनन् । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादी दावासँग अधिकारीले ह्वाट्स एपमा शंकास्पद कुराकानी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानमा पनि खुलेको थियो । तर, राजनीतिक शक्तिकेन्द्रको दबाबमा सीआईबीले उनलाई सरकारी साक्षी बनाएर अनुसन्धान प्रतिवेदन बुझाएपछि किन प्रतिवादी नबनाएको भन्दै प्रश्न उठेको थियो ।
अधिकारीले अध्यागमन विभाग प्रमुखको जिम्मेवारी नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्षसमेत रहेका नेता नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित गृहमन्त्री हुँदा पाएका थिए । दावासँग कुरा गरेको स्क्रिन सट बाहिरिएपछि तत्कालीन गृहमन्त्री श्रेष्ठले अधिकारीलाई अध्यागमन विभागबाट हटाएर गृह मन्त्रालयमा सरुवा गरेका थिए ।