मुक्तिनाथ (मुस्ताङ) । मुस्ताङको थासाङ गाउँपालिका–२,घट्टेखोलामा वैशाख ६ गतेदेखि चौरीको आलो रगत पिउने मेलामा सर्वसाधारणको भिड लागेको छ । अगामी वैशाख १५ गतेसम्म सञ्चालन हुने मेलामा मुस्ताङ बाहेक म्याग्दी, पोखरा, बुटवल, काठमाडौँलगायत देशका विभिन्न स्थानबाट सर्वसाधारण मेलामा पुगेका छन् । दैनिक दुई सय जनाको हाराहारीले चौरीको आलो रगत पिउने गरेको आयोजक हिमालय याक नाक पालन उपसमितिले जनाएको छ ।
आयुर्वेदिक र प्याथोलोजी उपचार पद्धतिबाट आजित भएकाको रोजाईमा परेको चौरीको आलो रगत पिउने मेलामा याकको मासु, चौरीको रगतका लागि एकसातासम्म मुस्ताङकै होटलमा बसेर समेत दैनिक पुग्नेको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ ।
हरेक वर्ष ग्याष्टिक, गानोगोला, तुस, अपच, हार्डजोर्नी, नशासम्बन्धी रोग, यौन उत्तेजना बढ्नेलगायत समस्याहरु समाधान हुने जनविश्वासमा सर्वसाधारणको भिड लाग्ने गरेको अवस्थामा मेडिकल चिकित्सकले भने आलो रगतलाई तताएर मात्रै प्रयोग गर्न सुझाव दिएका छन् ।
प्रदेश अस्पताल मुस्ताङका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.तेजेस नेपालले चौरीको घाँटीमा चक्कुले रेटेर निकालेको रगतको धारा गिलासमा भरेर पिएको दृश्यको वैज्ञानिक अनुसन्धान आवश्यक रहेको बताउनुभयो ।
डा. नेपाल भन्नुहुन्छ,‘‘रगतलाई तताएर खाँदा जिवाणुमुक्त हुन्छ, भिटामिन र पोषणका लागि पनि राम्रो मानिन्छ ।’’ आलो रगतमा विभिन्न विषाक्त पदार्थका अवशेषहरू हुने भएकाले तताएर, फुटेर खान उपयुक्त हुने डा. नेपालको भनाइ छ । सामान्य शारीरिक प्रक्रिया अनुसार सङ्क्रमण गराउने हानिकारक विषाक्त तत्त्वहरू रगतको शुद्धीकरण प्रक्रिय पछि मूत्र प्रणाली मार्फत् बाहिर जान्छन् ।
मानिसले ताजा रगत पिउँदा शरीरमा नै सङ्क्रमणको जोखिम हुने डा. नेपालको भनाइ छ । डा. नेपालले भन्नुभयो, ‘‘आलो रगतले बाहिरी किटाणुहरु सर्न सक्ने उत्तिकै सम्भावना हुन्छ, जनविश्वासलाई सम्मान गर्दै स्वास्थ्य क्षेत्रका सुझावलाई समेत कार्यान्वयन गर्नुपर्छ । ’’
हिमाली क्षेत्रको चरन क्षेत्रमा रहेका पशुचौपायाको शरिररमाभित्र हेमोग्लोविनको मात्रा धेरै हुने भएकाले आवश्यकता परेमा निकालेर फाल्न सकिन्छ । नेपालमा आलो रगतबाट रोग निको हुने भन्दै बाख्राको रगत समेत पिउँदा मिर्गौलासहित अन्य जटिल समस्याहरू समेत देखिएकाले आलो रगतलाई तताएर, पकाएर वा बाफबाट किटाणु हटाउने गरी आगामी दिनमा मेलाहरू सञ्चालन गर्न समेत चिकित्सकले सुझाव दिएका छन् ।