बागलुङ । बागलुङका दुई वटा मोटरेबल पुल निमार्ण थालिएको आठ वर्षदेखि अलपत्र परेका छन् । सर्वसाधारणलाई यात्रामा सहज बनाउन बागलुङको पश्चिम ढोरपाटनको भूजीखोला ओखरवोट मोटरेबल पुल र गल्कोट नगरपालिकास्थित काँडेबास र मल्म जोडने दरमखोला मोटरेबल पुल निमार्ण थालिएको आठ वर्षदेखि अलपत्र परेको हो ।
ठेकेदार कम्पनीको लापरबाहीको कारण समय सिमाभित्र निमार्ण पुरा हुन नसक्दा स्थानीयबासी मर्कामा परेका छन् । दुई वटा मोटरेबल पुलको जिम्मा एउटै निमार्ण व्यवसायी वाई.पि. कन्स्ट्रक्सन जे.भी.ले २०७३ सालमा निमार्णको जिम्मा लिएको थियो । निमार्ण व्यवसायीले समय सिमाभित्र काम पुरा गर्न नसक्दा स्थानियहरु निकै समस्यामा परेको गल्कोटका स्थानीय तेजप्रसाद सापकोटाले बताउनुभयो ।
हिउँदको समयमा खोला तर्न सकिने भएपनि बर्खाको समयमा खोला तर्नकै लागि सात किलोमिटर टाढा अर्को सडकको माध्यम प्रयोग गर्नुपर्ने बाध्यता रहेको उहाको भनाइ छ । “पहिला फड्के तरेर खोलामा आवातजावत गर्नुपर्ने बाध्यता थियो, सापकोटाले भन्नुभयो, अहिले त्यो पनि मोटरेवल पुल निमार्णको क्रममा फालिएपछि थप समस्या भएको छ ।”
विद्यार्थी र बिरामीहरुलाई आवाजजावत गर्न अहिले निकै कठिनाई हुने गरेको स्थानीय प्रेमबहादुर सुनारले बताउनुभयो । “गाँउ सडक सञ्जालले जोडियो,सुनारले भन्नुभयो, खोलामा मोटरेबल पुल आठ वर्षदेखि अलपत्र हुदा आवतजावतमा निकै सास्ती खेप्नुपरेको छ ।”
भुजीखोला ओखरबोट मोटरेबल पुलमा दुई करोड १६ लाख र दरमखोलाको मोटरेबल पुलमा तीन करोड ३२ लाख रुपियाँ लगानी भएपनि अहिलेसम्म निमार्ण भई बनेका संरचनाहरु जिर्ण बनेका छन । भूजीखोला मोटरेबल पुल २०७३ असोज २४ गते देखि काम गर्ने गरि तीन करोड ३४ लाख रुपियाँ र दरमखोला मोटरेबल पुलको २०७३ असोज १० गते सम्झौता गरी २८ महिनाभित्र सम्पन्न गर्ने छ करोड १७ लाख ५० हजार रुपैयाँको लागतमा वाई.पि. कन्स्ट्रक्सन जे.भीले जिम्मा लिएको थियो ।
दुई वटा मोटरेबल पुल समय सिमाभित्र पनि नसक्दा दुई पटक म्याद थप गरिएको थियो । पटकपटक म्याद थप गर्दा समेत काम नगरेपछि ठेक्का तोडेर पुन नयाँ प्रक्रियामा जान फाइल अगाडी बढाएको सडक डिभिजन कार्यालय बागलुङका प्रम्ुख हरि प्रसाद सुवेदीले बताउनुभयो ।