वालिङ (स्याङ्जा) । स्याङजामा रहेका सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि कोरियामा रहेका नेपालीहरुले झण्डै १४ लाख सहयोग गरेका छन् ।
स्याङजा परिवार किम्हे बुसान शाखाले जिल्लाका १६ विद्यालयलाई १ करोड ४० लाख वन अर्थात् नेपाली १३ लाख ५० हजार रुपिँया बराबरको आर्थिक सहयोग गरेको शाखा अध्यक्ष आशिष रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर आयोजना गरिएको ‘स्याङ्जा बुसान साङ्गीतिक धमाका’ मा सङ्कलन भएको रकम बचाएर विद्यालयहरूलाई सहयोग गरिएको अध्यक्ष रानाभाटको भनाइ छ । “परदेशीको हातेमालो, ग्रामीण शिक्षामा उज्यालो” भन्ने नाराका साथ अभियान चलाइएको उहाँको भनाइ छ ।
सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारका लागि सहयोग पुगोस् भनेर नै अभियान चलाइएको कार्यक्रम संयोजक कमल अर्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आथिक सहयोग प्राप्त गर्ने विद्यालयले आफ्नो शैक्षिक तथा विद्यालयको भौतिक स्थितिको सुधार गर्न सफल हुने छन् ।” रकमको सदुपयोगिताको आधारमा आगामी दिनमा पनि विद्यालयहरूलाई सहयोग गरिने उहाँको भनाइ छ ।
विद्यालयको आवश्यक्ताका आधारमा रकम सहयोग गरिएको शाखाका संस्थापक अध्यक्ष राजेन्द्रप्रसाद लामिछानेले जानकारी दिनुभयो । आफूहरूले पठाएको रकम कसरी सदुपयोग भइरहेको छ भन्नेमा जानकारी लिने गरेको लामिछानेको भनाइ छ । रोजगारीकोे शिलशिलामा विदेशमा रहनु परे पनि आफ्नो जिम्मवारी पूरा गर्ने प्रयास गरिरहेको उहाँको भनाइ छ ।