कास्कीको रुपागाउँपालिकामा स्वास्थ्य बिमा कार्यक्रम सुरु

8.1k Shares

माछापुच्छ्रे (कास्की) । कास्कीको रुपा गाउँपालिकाले स्थापना गरेको रुपा अस्पतालमा सोमबारदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । बिमा बोर्डसँगको सहकार्यमा रुपा अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो ।

गाउँपालिका अध्यक्ष नवराज ओझाले सेवाग्राही जानकी गुरुङलाई बिरामी पुर्जा दिएर स्वास्थ्य बिमा कार्यक्रम सोमबार सुरुवात गर्नुभएको हो । स्वास्थ्य सेवामा जनताको पहुँच बढाउन स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जनाको परिवारको बिमा गर्दा लाग्ने तीन हजार पाँच सय रुपियाँको पचास प्रतिशत गाउँपालिकाले व्यर्होने भएको छ । बिमाको लागि अनुदान दिन पालिकाले चालु आर्थिक वर्षमा २० लाख बजेट विनियोजन गरेको ओझाले जानकारी दिनुभयो ।

पालिका भित्रको स्वास्थ्य संस्थामा स्वास्थ्य बिमा कार्यक्रम नहुँदा जनताले सेवा लिन पोखरा धाउनुपर्ने र विभिन्न समस्या पनि झेल्नुपर्ने भएकाले त्यसलाई सहज बनाउन स्वास्थ्य बिमा कार्यक्रम सुरुवात गरिएको उहाँको भनाइ । “जनतालाई स्थानीय सरकारको अनुभूति दिलाउन नयाँ वर्षमा नयाँ कामको थालनी गरेका छौँ,” उहाँले भन्नुभयो, “स्वास्थ्यलाई प्राथमिकतामा राखेर अस्पतालसहित ९ वटा स्वास्थ्य संस्थाबाट सेवा दिइरहेको छौँ, यो कार्यक्रमले पनि स्वास्थ्य सेवामा जनताको पहुँच बढाउन सहयोग पुग्ने विश्वास लिएको छु ।”

दुई जना डाक्टरसहित २८ जना अस्पतालमा कार्यरत रहेको र आगामी वर्षदेखि दाँतको सेवा विस्तार गर्ने योजना ओझाले सुनाउनुभयो । ओझाका अनुसार अस्पताल र स्वास्थ्य संस्थामा पालिकाले ५० लाख खर्च गर्दै आएको छ । स्वास्थ्य सेवालाई सहज बनाउन नौ वटै स्वास्थ्य संस्थामा गरी ३७ जनालाई करार नियुक्त गरिएको उहाँको भनाइ छ । ओझाका अनुसार अस्पतालमा सेवा लिन आएका मध्ये ३० प्रतिशतलाई मात्र अनेत्र रिफर गर्ने गरिएको छ । जनतालाई सहज हुने गरी बिहान ८ बजेबाट नै बहिरंग सेवा(ओपिडी) सुरु हुन उहाँको भनाइ छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले जनतासँग प्रत्यक्ष जोडिएको सेवाको सुरुवात हुनु सुखद पक्ष भएको बताउँदै पाँच महिनाको तयारीपछि सेवा आरम्भ भएको जानकारी दिनुभयो । रुपा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष नारायण गुरुङले स्वास्थ्य बिमा कार्यक्रमको लाभ लिन पालिकावासीलाई अनुरोध गर्नुभयो ।

सम्बन्धित समाचार