खोटाङ । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ का अवसरमा आगामी सोमबारदेखि खोटाङमा आयोजना हुने दुईदिने ‘रेडपाण्डा तथा थार महोत्सव–२०८२’ को तयारी प्रायः पूरा भएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा हुने महोत्सवको उद्देश्य लोपोन्मुख रेडपाण्डा र थारको संरक्षण तथा प्रवर्धन भएकोे नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।
मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको हुर्लुङमा आयोजना हुने महोत्सवमा विभिन्न जातजातिको संस्कार–संस्कृति अनुसारका खाना, भेषभूषा, रहनसहन तथा स्थानीय उत्पादन पनि समावेश गरिने उहाँले जानकारी दिनुभयो ।
स्थानीय कच्चा पदार्थबाट उत्पादित सामग्री तथा रेडपाण्डा र थारसम्बन्धी तस्बिर तथा भिडियो स्टलका रुपमा प्रदर्शनी गरिने जनाइएको छ ।
मध्यपहाडी लोकमार्गको दिक्तेल–हलेसी सडकखण्डको हुर्लुङबाट सुरु हुने ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’को शुभारम्भ ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ का सद्भावना दूत अभिनेता दयाहाङ राईले गर्नुहुनेछ ।
गत पुसमा शुभारम्भ भएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ मा आन्तरिक तथा बाह्य गरी करिब एक लाखको हाराहारीमा पर्यटक भित्र्याउने लक्ष्य छ । किराती मिथक तथा संस्कार–संस्कृतिसँग जोडिएको मुन्दुम ट्रेललाई सरकारले १०० पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेको छ ।