पाल्पा– लामो समयसम्म पानी नपरेर खडेरी लागेकाले जिल्लाका अधिकांश जङ्गलमा डढेलो लाग्न थालेको छ । हालसम्म यहाँका ३६ सामुदायिक तथा सरकारी जङ्गलमा लागेको डढेलोले सात सय ११ हेक्टर क्षेत्रफल नष्ट गरेको छ ।
यहाँका अधिकांश वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी बनेका छन् । जङ्गलमा दिनदिनै बढेको डढेलोले दुई वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ । डढेलोले वयस्क र पुराना रूख पनि नष्ट गरेको कार्यालयका प्रमुख नारायणदेव भट्टराईले बताए ।
चैत लागेसँगै बढेको डढेलोले वन क्षेत्र उजाड बनेको छ । अहिले रूख बिरुवाले पालुवा फेर्न र झारेका पुराना पात सुकेकाले पनि आगो चाँडै फैलने गरेको प्रमुख भट्टराईले बताए । वन क्षेत्रमा दिनदिनै बढेको डढेलोले रूख, बिरुवा सखाप हुनुका साथै नजिकका बस्ती पनि आगलागीको उच्च जोखिममा परेकाले उच्च सर्तकता अपनाउन उनले सबैलाई आग्रह गरे ।
यसपालि हिउँदे वर्षा नभएकाले डढेलो झन् फैलिएको स्थानीय बताउँछन् । हिउँदे वर्षाले रूख, बिरुवाले झारेका पातपतिङ्गर भिजाउँदा आगो ढिलो फैलने विगतको अनुभव सम्झँदै वन क्षेत्र नजिकका बासिन्दा यसपालि हिउँदे वर्षा नहुँदा चैत मध्य भित्रै डढेलोले विकराल रूप लिएको बताउँछन् ।