भूटानी शरणार्थीलाई अमेरिकाले जबरजस्ती निकाला गरेकोमा चिन्ता व्यक्त

7.5k Shares

काठमाण्डाै – भूटानमा राजनीतिक बन्दीको रिहाइका लागि सञ्चालित ग्लोबल अभियान (जीसीआरपीपीबी) ले अमेरिकाबाट १० जना भूटानी शरणार्थीलाई जबरजस्ती देश निकाला गरिएकोमा चिन्ता व्यक्त गरेको छ ।

सन् १९९० को दशकमा भूटानबाट निष्कासित गरिएका यी व्यक्तिहरूलाई संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) को पुनर्वास कार्यक्रमअन्तर्गत कानूनी रूपमा अमेरिकामा पुनर्वास गरिएको थियो । यसको बाबजुद पनि उनीहरूलाई जबरजस्ती देश निकाला गरेर भूटान पठाइएको जीसीआरपीपीबीको भनाइ छ ।

उनीहरू गएको मार्च २७ मा भूटानको पारो विमानस्थल आइपुगेका थिए । भूटानले उनीहरूलाई बस्न दिनुको सट्टा भारततर्फ पठाइदिएका थिए । त्यसपछि भारतीय सुरक्षा बलले उनीहरूलाई नेपाल–भारत सीमामा रहेको पानीट्याङ्कीमा स्थानान्तरण गरेको थियो । तीमध्ये तीन जना– रोशन तामाङ, आशिष सुवेदी र सन्तोष दर्जीलाई बेलडाँगीको भुटानी शरणार्थी शिविरबाट नेपाली अधिकारीहरूले पक्राउ गरेका थिए । उनीहरू कानूनी कागजातविना नै अवैध रूपमा नेपाल प्रवेश गरेका थिए । अब उनीहरूलाई भारत पठाउन सक्ने सम्भावना छ भने बाँकी सात जनाको ठेगानाबारे थाहा भएको छैन ।

यो घटनाले अन्तर्राष्ट्रिय शरणार्थी सुरक्षा र गैर–रिफाउलमेन्टको सिद्धान्तको स्पष्ट उल्लङ्घनलाई उजागर गरेको भूटानमा राजनीतिक बन्दीको रिहाइका लागि सञ्चालित ग्लोबल अभियान (जीसीआरपीपीबी) ले बताएको छ । रिफाउलमेन्ट भन्नाले शरणार्थीहरूलाई जोखिमको स्थिति आउने ठाउँमा फर्काउनु हो ।

जीसीआरपीपीबीले भूटानी र भारतीय अधिकारीहरूको कार्यको निन्दासहित यसले नयाँ राज्यविहीनता र मानवीय सङ्कट निम्त्याउने जनाएको छ । साथै तत्काल कदम चाल्न नेपालसहित भारत, भूटान, अमेरिकालाई आग्रह गरेको छ ।

सम्बन्धित समाचार