पर्सा– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू हाल प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका छन् ।
नेकपा माओवादी केन्द्रद्वारा सञ्चालित तराई–मधेस जागरण अभियानमा सहभागी हुन वीरगन्ज आएका अध्यक्ष प्रचण्डले प्रेस सेन्टर नेपाल, पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा २०८४ सम्म प्रधानमन्त्री बन्ने होडमा आफू नरहेको धारणा राखे ।
उनले सरकारमा हुँदा एक कुरा र सरकार बाहिर हुँदा अर्कै कुरा गर्ने आरोप माओवादीलाई उपयुक्त नहुने बताए । सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध जेहाद नै छेडिएको भन्दै उनले मिटरब्याज पीडितका पक्षमा ऐन निर्माणदेखि नागरिकताविहीन युवाहरूका समस्यामा मलमपट्टी लगाउने काम सरकारमा रहँदा गरिएको स्पष्ट पारे ।
आर्थिक विकासको गति दिन र सुशासन कायम गर्न सरकार बाहिर हुँदा पनि निरन्तर आवाज उठाइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘सरकारमा हुँदा वा सरकार बाहिर, माओवादी एउटै हो।’
अध्यक्ष प्रचण्डले ओली नेतृत्वको सरकारले भ्रष्टाचार र बेथिति प्रोत्साहन गरेको आरोप लगाउँदै राम्रा काम गर्नेहरूलाई हतोत्साहित गरेको टिप्पणी गरे ।