रुखबाट लडेर एकको मृत्यु

9.9k Shares

म्याग्दी (दरबाङ) । हावाहुरीले म्याग्दीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको धवलागिरी गाउँपालिका –७, ताकममा आइतबार हावाहुरीले हाँगा भाँचिएर खनिउ रुखबाट लडेर ६० वर्षीय थमन खत्रीको मृत्यु भएको हो । 

ताकमको हुकलुङमा बाख्रा चराउन जानुभएका खत्रीको खनिउको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

बाख्रा घर फर्किएपनि सँगै जानुभएका खत्री नफर्किएपछि खोज्ने क्रममा स्थानीयबासीले साँझ उहाँलाई मृत भेटाएका थिए । रुखमा चढेर घाँस काट्ने क्रममा हावाहुरीले हाँगा भाँचिएर रुखबाट खसेको वडा अध्यक्ष अशोक खत्रीले जानकारी दिनुभयो। 

घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो । शवलालाई पोष्ट मार्टमका लागि बेनी प्रादेशिक अस्पतालमा ल्याइएको छ ।

शनिबारदेखि आइतबार साँझसम्म करिब २४ घण्टासम्म जिल्लाभर निरन्तर रुपमा तिब्र गतिको हावाहुरीले चलेको थियो । हावाहुरीका कारण विद्यालय र स्वास्थ्य संस्थाहरुको भवनमा क्षति पुर्‍याएकाे छ । 

रघुगङ्गा गाउँपालिका–८, दुवाडीमा रहेको सुन्दरा आधारभूत विद्यालयको पाँच कोठे भवनको छानो पनि हावाहुरीले उडाएको छ । विद्यालयको पठनपाठन र स्वास्थ्य चौकीको सेवा प्रवाह प्रभावित भएको छ । यसैगरी बेनी नगरपालिका–४, सिंगाको ब्याडमिन्टन कोर्टमा लगाइएको जस्तापाटाको बारलाई पनि हावाहुरीले लडाएको छ ।

सम्बन्धित समाचार