ढल्केबर। सशस्त्र प्रहरी बलले भारतबाट अवैध रूपमा आयात हुने सेतो अण्डा बरामद गरी नष्ट पार्ने क्रम तीव्र बनाएको छ। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध ढङ्गले भित्रिने अण्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, क्रेट, कार्टुन र भ्याक्सिनको ओसारपसार नियन्त्रण गर्न प्रदेशस्थित उच्चपदस्थ सुरक्षा अधिकारीलाई निर्देशन दिए लगत्तै प्रहरीले अण्डा नष्ट गर्ने अभियानलाई तीव्र बनाएको हो।
सशस्त्र प्रहरी बलले गत फागुनमा मात्र ३२४ क्यारेट सेतो अण्डा बरामद गरी नष्ट गरेको जनाएको छ। साथै यही चैत २ गते ४५ क्यारेट सेतो अण्डा महोत्तरीमा बरामद गरी नष्ट गरेको सशस्त्र प्रहरी बल मधेश प्रदेश छिन्नमस्ता बाहिनी नम्बर २ मुख्यालयका प्रमुख एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीले जानकारी दिनुभयो।
भारतबाट अवैध रूपमा भित्रिने त्यस्ता वस्तुका कारण व्यवसायमा समस्या भएको, भारतका विभिन्न प्रान्तमा देखापरेका बर्डफ्लु भित्रिने जोखिम उच्च रहेकाले नियन्त्रण अभियान चलाउनुपर्ने अवस्था आएको प्रहरीले बताएको छ।
नेपाल बोयर कुखुरापालक सङ्घले भारतबाट भित्रिने अवैध पोल्ट्रीजन्य पदार्थका कारण नेपाली पोल्ट्री उद्योग सङ्कटग्रस्त भएको भन्दै मुख्यमन्त्री सिंहको ध्यानाकर्षण गराएको गराउनुभएको थियो। भारतका विभिन्न प्रान्तमा देखिएको बर्डफ्लु जोखिमका कारण पनि अवैध आयात नियन्त्रण आवश्यक भएको सङ्घका अध्यक्ष विनोद पोखरेलले बताउनुभयो।
नेपालको कुल ग्राहस्थ उत्पादनमा तीन प्रतिशत योगदान रहेको पोल्ट्री क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा पाँच लाख व्यक्तिलाई रोजगारी दिएको बताउँदै उहाँले नेपालको पोल्ट्री उद्योगमा एक खर्ब ६० अर्ब रुपियाँको लगानी रहेको उहाँले जानकारी दिनुभयो।