दर्ता नगरी सञ्चालित नुवाकोटका दुई अस्पताल बन्द

7.8k Shares

काठमाडौं– दर्ता नगरी सञ्चालन गरिएका नुवाकोटका दुई अस्पताल बन्द गरिएको छ । अनुगमनका क्रममा दर्ता नगरी सञ्चालन भइरहेको पाइएपछि उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटले तत्काल सिल लगाएर अस्पताल बन्द गरिदिएको प्रमुख किशोर सापकोटाले जानकारी दिए । 

उनका अनुसार, तादी ४ सातविसेमा स्थित दुप्चेश्वर नेपाल हस्पिटल प्रालि दर्ता नगरी सञ्चालन भइरहेको पाइएपछि अस्पताललाई सिल लगाएर २० हजार रुपैयाँ जरिवाना गरिएको छ । यस्तै, पञ्चकन्या गापा २ सहरेटारमा रहेको माइलक डायग्नोस्टिक अस्पताल पनि दर्ता नगरी सञ्चालन गरिएको पाइएको छ, जसलाई बन्द गरिएको छ ।

संयुक्त बजार अनुगमन टोलीले मंगलबार नुवाकोटको पूर्वी भेगका तादी, दुप्चेश्वर र पञ्चकन्या गाउँपालिकाका विभिन्न बजारमा अस्पताल, किराना पसल, भेटेरिनरी र खाद्यान्न सप्लायर्सको स्थलगत अनुगमन गरेको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाइको नेतृत्वमा गएको टोलीले ११ वटा अस्पताल र पसलहरूको अनुगमन गरेको उद्योग वाणिज्य कार्यालय नुवाकोटले जनाएको छ । अनुगमनमा तादी गापा ३ खरानीटार, तादी ४ सातबिसे, दुप्चेश्वर ६ र पञ्चकन्या गापा २ सहरेटारमा रहेका तीन वटा अस्पताल, चार वटा किराना र खाद्यान्न पसल, र चार वटा भेटेरिनरी पसललाई अनुगमन गरिएको हो ।

सम्बन्धित समाचार