कुलमान हटाउने कोसिस चलिरहँदा माओवादी, रास्वपा र राप्रपाले घेरेर सरकारलाई

8.1k Shares

काठमाडौं– नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन कोसिस गरेको भन्दै प्रतिनिधि सभामार्फत् सरकारलाई घेरेका छन् ।

घिसिङलाई कार्यसम्पादन मूल्यांकनका नाममा ऊर्जामन्त्री दीपक खड्काले शून्य अंक दिएको विषय उनीहरूले संसद्मा उठाउँदै सरकारको आलोचना गरेका हुन् । बुधबार प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारको कदमको विरोध गर्दै कुलमानको स्पष्टीकरण र शून्य अंकबारे घेर्ने प्रयास गरेका हुन् ।

पाण्डेले भने, ‘जसले राम्रो काम गरेको छ । विद्युत् प्राधिकरणले राम्रो नाफा गरिरहेको छ, त्यसलाई शून्य अंक दिइएको छ। निरन्तर स्पष्टीकरण सोध्ने कुरा पनि आइरहेको छ, यो आपत्तिजनक छ ।‘

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पनि यो विषय संसद्मा उठाएर सरकारलाई घेरेका छन् । उनले एउटा कुलमानलाई राज्यले यसरी लखेटे हजारौँ कुलमान लिएर आउने चेतावनी दिए । उनले भने, ‘राज्यले राम्रो काम गर्ने मान्छेलाई लखेटिरहेको छ । यस्तै हो भने हामी हजारौँ कुलमान लिएर आउँछौँ ।’

राप्रपाकी सांसद बीना लामाले पनि कुलमानलाई हटाउने सरकरको कोसिसको संसद्मा विरोध गरिन् । उनले भनिन, ‘यो सरकार गठन भएदेखि नै कुलमानलाई हटाउने भनेर आतंक मच्चाइरहेको छ । यसको मुख्य उद्देश्य के हो ? राम्रो काम गर्नेले यही नियति भोग्नुपर्ने हो ? घिसिङले बुझाएको प्रतिवेदन नबुझ्ने अनि आफैँले अंक दिने यसको जवाफ माग्छु ।’

यस्तै राप्रपाबाटै सांसद ज्ञानेन्द्रै शाहीले पनि कुलमानलाई हटाए सदन र सडकबाटै आन्दोलन गर्ने चेतावनी दिए । यता सभामुखले कारबाहीबारे जानकारी गराउन संसद् बैठकबाट रुलिङ गरेका छन्। उनले भने, ‘प्रतिपक्षीले राखेको विषय, अन्य माननीयहरूले शून्य, विशेष समय र आकस्मिक समयमा राख्नु भएको विषयमा ‍२०७९ नियम १५ उपनियम २ बमोजिम सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराउँछु।’

सम्बन्धित समाचार