थापाथलीमा मेलम्ची खानेपानी आयोजनाको फुटेको पाइपलाइन मर्मत सम्पन्न

7.6k Shares

काठमाण्डाै – थापाथलीमा हिजो बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ । काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको केयूकेएलका इन्जिनियर प्रकाश बरालले जानकारी दिनुभयो ।

हिजो थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ मोडिने ठाउँमा खानेपानीको पाइप फुटेको थियो । पाइप फुटेपछि पानी बाहिर निस्किँदा सडक भत्किनुका साथै पानीले आसपासका पसलहरू डुबानमा परेका थिए । सडकपेटीमा पनि क्षति पुगेको थियो । पाइप फुटेपछि बिग्रिएको सडक डोजर  प्रयोग गरेर त्यहाँ जम्मा भएका ढुङ्गा र गिट्टी हटाइ हिजै सफा गरिएको थियो ।

यसअघि गएको माघ ३० गते काठमाण्डौको बिजुलीबजार–बबरमहल सडक खण्डमा पनि मेलम्चीको पाइप फुटेको थियो । त्यति बेला यो क्षेत्रमा रहेका वन कार्यालयलगायतका सरकारी कार्यालयहरू जलमग्न भएका थिए ।

सम्बन्धित समाचार