मदन भण्डारीकी छोरी उषा एमाले सचिव बन्ने

18.8k Shares

काठमाडौं । नेकपा एमालेमा विरासतको राजनीति अगाडि बढ्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र एमालेका दिवंगत महासचिव मदन भण्डारीकी जेठी छोरी उषाकिरण भण्डारीलाई दशौं महाधिवेशनमा पदाधिकारी बनाउने तयारी भएको हो । यसका लागि विधानमै सहज बनाइदिने देखि संगठनमा पनि समर्थन हुने माहोल तयार गरिदिन अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिइसकेका छन् । 

उषाकिरणले राजनीतिमा छलाङ मार्ने आधार तयार गरिसकेकी छिन् । उनी अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य हुन् । संघमा विगतमा विद्या भण्डारी अध्यक्ष थिइन् । एमालेको राजनीतिमा प्रभाव बनाउँदै आएको मदन भण्डारी फाउण्डेशनमा उषाकिरण अध्यक्ष छिन् । उनलाई राजनीतिमा ल्याउनकै लागि राष्ट्रपति भण्डारीले वर्षौ देखि त्यही अनुसारको स्कुलिङ गर्दै आइन् । उषाकिरण दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयबाट एमए गरेकी छिन् । 

एमाले अध्यक्ष केपी शर्मा ओली पनि उषाकिरणलाई राजनीतिमा अगाडि बढाउन तयार भएको बुझिएको छ । उनलाई सकभर सचिव बनाउने गरी तयारी भएको हो । राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुम भने राजनीतिमा आउने सम्भावना कम छ । उनले नेपाली काँग्रेसकी पूर्व सांसद किरण यादवको छोरासँग विवाह गरेकी छिन् । निशाको परिवारको राजनीतिक पृष्ठभूमि काँग्रेस भएकाले पनि उषाले नै भण्डारी परिवारबाट एमालेको राजनीतिमा भविष्यमा नेतृत्व लिने गरी बढ्ने योजना बनिसकेको बुझिएको छ । 


सम्बन्धित समाचार