गुलरिया (बर्दिया) । बर्दियाको गेरुवा गाउँपालिकाले सञ्चालन गरेको ‘छोरी बचाऊँ, छोरी बनाऊँ’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आर्थिक वर्ष २०७४/७५ देखि सञ्चालनमा आएको कार्यक्रम अन्तर्गत ५५६ जना बालिकाको बालबचत खाता खोली रकम जम्मा गरिएको छ । आव २०७४/७५ मा जम्मा ७४ जना बालिकाको नाममा खाता खोल्न लगाई गाउँपालिकाले दुई हजार रुपियाँ खातामा राखिदिएर कार्यक्रमको सुरुवात गरेको थियो ।
आव २०७९/८० देखि पालिकाले कार्यविधि नै बनाएर बालबचत खातामा प्रतिबालिका पाँच हजार रुपियाँ रकम राख्दै आएको छ । अभिभावकले खोलेको बालबचत खातामा गाउँपालिकाले रकम बचत जम्मा गरिदिने गरेको हो । गाउँपालिकाले सञ्चालन गरेको बालिका बचाऊ कार्यक्रमबाट हालसम्म ५५६ जना बालिका लाभान्वित भएका छन् ।
छोरी बचाऊ कार्यक्रम अन्तर्गत चालु आवको हालसम्म ७४ जनाले तीन लाख ३७ हजार रकम लिइसकेका छन् । अघिल्लो आवमा १३५ जना बालिकाले छ लाख ७५ हजार रकम बैङ्क खातामा जम्मा गरेका थिए । बालबचत खातामा जम्मा गरेको रकम बालिका १८ वर्ष पूरा नहुँदासम्म निकाल्न पाइँदैन । गाउँपालिकाले खातामा राखिदिएको रकमको ब्याज हरेक वर्ष जोडिँदै जाने गरेको छ ।