हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले प्राकृतिक विपत्बाट निम्तिने समस्यासँग लड्न विश्वव्यापी रुपमा सबै पक्षका बिच सहकार्य आवश्यकभएको बताउनुभएको छ ।
उहाँले पछिल्लो समयमा विश्वमा भइरहेको जलवायु परिवर्तनका कारणले नेपाल जस्तो जलवायु परिवर्तनको उच्च जोखिम रहेको देशमा ठुल्ठुला विपत्तीहरूको सामना गर्नु पर्दा हामीले आफ्नो लक्ष्यमा ठुलो क्षति व्यहोर्नु परिरहेको बताउनुभयो ।
युनाइटेड अरब इमिरेट्सको आयोजनामा दुबईमा भएको वल्र्ड गभर्मेण्ट्स समिट २०२५ (विश्व सरकार सम्मेलन) मा राउण्ड टेबल छलफलमा सहभागी हुँदै मुख्यमन्त्री लामाले कुनैपनि सरकारको मुख्य दाहित्व भनेको आफूसँग उपलब्ध श्रोत र साधनको उचित व्यवस्थापन गरी जनताको आवश्यकता पूरा गर्नुका साथै समृद्ध देश निर्माण गर्नुभएको बताउनुभयो ।
मन्त्रीस्तरीय राउण्ड टेबलको प्रभावकारी शासन एवम् सङ्कटमा लचिलोपन सत्रमा सहभागी हुँदै उहाँले सरकारले आफ्ना जनताको दैनिक समस्या समाधान गर्नुका साथसाथै तोकिएको लक्ष्यहरूमा प्रगति हासिल गर्नुपर्ने बताउनुभयो ।