मध्यविन्दुमा जग्गा नापजाँच सुरु

8.3k Shares

मध्यविन्दु । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन मध्यविन्दु नगरपालिकामा पुनः प्रक्रिया सुरु गरिएको छ ।  भूमि समस्या समाधान आयोग पुनः गठन भएपछि जिल्लामा मध्यविन्दु नगरपालिकाले काम सुरु गरेको हो । मध्यविन्दु –१५ मा जग्गा नापजाँचको काम बिहीबारबाट विधिवत रूपमा सुरु भएको छ । 

मध्यविन्दु –१५ को भिउरानमा एक औपचारिक कार्यक्रम गरेर जग्गा नापजाँच कार्यको नगर प्रमुख भिमलाल अधिकारीले शुभारम्भ गर्नुभएको छ । यस वडामा भूमिहीन दलित ३८, भूमिहीन सुकुम्वासी एकसय ५५ र अव्यवस्थित बसोबासी एक हजार एकसय २१ गरी कूल एक हजार दुईसय  १४ जना रहेका छन् । 

जग्गाधनी पुर्जा वितरण गर्न पालिकाले नापजाँच प्रक्रिया सुरु गरेको छ । नापजाँच प्रक्रिया सुरु भएपछि यहाँका बासिन्दा खुसी भएका छन् । लामो समयदेखि जोतभोग गर्दैआएको जग्गाको पुर्जा अब पाइन्छ भन्नेमा ढुक्क भएको स्थानीय भूमिहीन दलित सन्तबहादुर विकले बताउनुभयो ।  

विकले जग्गाधनी पुर्जा नहुँदा धेरै समस्या भोगेको सुनाउँदै अब पुर्जा हात परेपछि सजिलो हुने बताउनुभयो । लामो समयदेखि ऐलानी जग्गामा बसोबास गर्दै आउनुभएकी ज्ञानुमाया खड्का पनि जग्गा नापजाँच सुरु भएपछि खुसी हुनुहुन्छ । 

सम्बन्धित समाचार