म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिमको डाडाखेतमा विद्युत् सवस्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना मार्फत सवस्टेशनको पूर्वाधार निर्माणको काम सकेर उपकरण जडान थालिएको हो । म्याग्दी नदी र सहायक खोलाहरुमा निर्माणाधीन जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रिय ग्रिडमा जोड्ने उद्देश्यले डाडाखेतमा सवस्टेशन निर्माण गरिएको हो ।
आयोजना प्रमुख रोशन अग्रवालले ८५ प्रतिशत भौतिक प्रगति भएको डाडाखेत सवस्टेशनको काम आगामी तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताए। पूर्वाधार निर्माण सकेर उपकरण जडान थालिएको उनले बताए। ५१ रोपनी क्षेत्रफलमा निर्माण भएको डाडाखेत सवस्टेशनमा १३३-३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान गर्न थालिएको छ ।