काठमाडौँ । नेपाली पाइलटहरूबिच एकता र सहकार्यमा जोड दिइएको छ । नेपाल पाइलट सङ्घले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने पाइलटहरूले एकता र सहकार्यमा जोड दिएका हुन् ।
काठमाडौँमा आयोजित कार्यक्रममा पाइलटहरू, उड्डयन क्षेत्रका सरोकारवालाहरूले एकत्रित भएपछि मात्रै नेपालको उड्डयन क्षेत्रलाई समृद्ध र बलियो बनाउन सकिने बताएका हुन् ।
कार्यक्रमको सञ्चालन गरेका पाइटल जनक अधिकारीले सङ्घको उद्देश्य, दृष्टिकोण र पाइलटहरूबिचको एकताको महत्वलाई प्रस्ट्याएका थिए । ‘सङ्घ पाइलटहरूको हितका लागि समर्पित छ । यो रोजगारी अस्थिरता वा द्वन्द्वको विषय होइन, यो सामूहिक प्रगति र समर्थनको अभियान हो,’ उनले भने ।
पाइटल अधिकारीले सङ्घको नवीन स्टिकर कोष सङ्कलन अभियान (प्रति स्टिकर रु. १००) को सुरुवात गरिएको समेत बताए । सङ्घको आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल र मोबाइल एप्लिकेसनको योजनाबारे समेत जानकारी गराए ।