काठमाडौं– सत्ता साझेदार र प्रतिपक्षमा रहेका मधेश केन्द्रित विभिन्न आठ दलीय मोर्चाले मुक्कुमलुङ घटनामा घाइतेसँग भेट गरेका छन् । मोर्चाका सदस्यहरूले शुक्रबार बिहान त्रिवि शिक्षण अस्पतालमा उपचारार्थ भर्ना भएका घाइतेहरूसँग भेट गरेका हुन् ।
घाइतेहरूसँगको भेटमा मोर्चाका सदस्यहरूले आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।
‘बिहान साढे १० बजे आठ दलीय मोर्चाका तर्फबाट मुक्कुमलुङ घटनामा घाइते भएका आन्दोलनकारी साथीहरूलाई भेटी शीघ्र स्वास्थ्य लाभको कामना गर्यौँ,’ मोर्चाको कार्यदलका सदस्य केशव झाले भने, ‘आन्दोलनमा हाम्रो मोर्चाको ऐक्यबद्धता छ । राज्य दमनको घोर भर्त्सना समेत गर्छौँ ।’
कार्यदलले आदिवासी जनजाति समुदायका पुर्खाको आत्मा भ्रमण गर्ने पवित्र स्थलको रूपमा रहेको ठाउँमा केबलकार निर्माणले आस्थामाथि प्रहार हुने भएकाले उनीहरूको भावनासँग खेलबाड नगर्न आग्रह पनि गरेको छ ।